बजार संक्षेप

आन्तरिक बजारमा हस्तकलाको १० अर्बको कारोबार

  नागरिक   2019-11-29

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले युवा व्यवसायीलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताएका छन् । नेपाल हस्तकला महासघले भृकुटीमण्डपमा आयोजना गरेको १७ औँ हस्तकला व्यापार मेलाको उद्घघाटन गर्दै मन्त्री खतिवडाले व्यवयायीले आफ्नो कार्यतालिकासहितको वार्षिक लक्ष्य लिएर आए सरकार सहयोग गर्न तयार रहको बताए । पाँच प्रतिशतसम्म सहुलियतपूर्ण ऋणका लागि सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।
भ्रमण वर्षमा आउने पर्यटकलाई आधा दिन समय बिताउने हस्तकला सम्बन्धी प्रदर्शनी स्थलको निर्माण आवश्यक रहेको बताउँदै उनले सागमा आउने पाँच हजार खेलाडी तथा प्रशिक्षकलाई देखाउन आफूले दशरथ रंगशाला परिसरमा सानो प्रदर्शनी स्थलको अवलोकन गरिसकेको जानकारी दिए ।
मन्त्री खतिवडाले हस्तकला सामग्री निर्यातमा २५ प्रतिशतले वृद्वि भएको बताए । उनले धेरै एसियाली मुलुकका कला र मौलिकतासँग नेपालका हस्तकलाका सामग्री प्रतिस्पर्धामा उत्रन सक्ने गुणस्तरको रहेकाले यो क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।
‘अन्तर्राष्ट्रिय बजारमा गुणस्तर र उत्पादन मूल्यलाई हेर्ने भएका कारण नेपालमा उत्पादित हस्तकलाका सामग्री उत्कृष्ट हुने गरेका छन्,’ उनले भने, ‘नेपालमा उत्पादन हुने हस्तकलाका सामग्री युरोपसम्म कोसेलीको रुपमा पठाउने गरेको र तेस्रो मुलुकका नागरिक नेपाली कला देखेर खुसी हुने गरेका छन् ।’ नेपाली उत्पादनमा स्वदेशी कला, संस्कृति परम्परा तथा मौलिकता जोडिएकाले कुन देशमा कस्ता हस्तकलाका सामग्रीप्रति कस्तो आकर्षण छ भन्ने योजना बनाएर सरकारलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीले उत्पादन तथा निर्यात गर्दे आएको गुणस्तरीय सामानका लागि चाहिने कच्चा पदार्थको लागत कम गर्न आवश्यक नीति निर्माण तथा परिमार्जन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए । महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आन्तरिक बजारमा करिब १० अर्ब रुपैयाँबराबरको हस्तकला सामग्रीको कारोबार हुने गरेको जानकारी गराउँदै यसको विकासबाट देशमा विद्यमान बेरोजगारी अन्त्य गर्न सहयोग पुग्ने बताए । ‘नेपालमा उत्पादित २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारतलगायत मुलुकमा निर्यात हुँदै आएको छ,’ उनले भने, ‘यसले देशभर ११ लाख मानिसलाई रोजगारी दिइरहेको छ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले देशभित्रै रोजगारीका अवसर वृद्वि गर्न निर्यातको क्षेत्र फराकिलो बनाउनु पर्नेमा जोड दिए । उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्ने तथा हस्तकलाका उद्यमीबाट उत्पादित सामानको आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको छ । 
मेलामा धातुका मूर्ति, ढुंगाका हस्तकला, पौभा, थांका, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलन बाँसका वस्तु प्रदर्शनीमा राखिएका छन् । मेलामा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानका विदेशी प्रदर्शनीकर्ताको सहभागिता रहेको छ । मेलामा सात प्याभिलियनसहित करिब दुई सय कक्ष छन् । आगामी मंसिर १६ सम्म सञ्चालन हुने मेलाको एक लाखभन्दा बढीले अवलोकन गर्ने जनाइएको छ ।
 

यसमा तपाईको मत