बजार संक्षेप

बिग मर्जर हल्लाले सेयर बजारले फाइदा लिन सकेन

    2019-07-12

काठमाडौं,– चालु आर्थिक वर्षको अन्त्य र बैंकहरुको बिग मर्जरको हल्ला चले पनि सेयर बजारले यसबाट फाइदा उठाउन सकेको छैन ।
बैंकहरु मर्जरमा गए पर्याप्त पुँजी हुने, बैंक दरिलो हुने, नाफा बढ्न सक्ने लगायतका फाइदा हुने भनिए पनि सेयर बजारमा यसको चासो नदेखिएको हो । मर्जरको हल्लापछि एक दिन बैंकिङ परिसूचक बढे पनि त्यसपछि ओरालो लागिरहेको छ । 
राससका अनुसार बुधबार ओरालो लागेर बन्द भएको सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि सामान्य घटेको छ । 
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६२ बिन्दुले घटेर एक हजार २४८.५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ बिन्दुले घटेर २६८.३२ मा पुगेको छ । 
परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औसतमा समेटिएको छ । बिहीबार एक सय ७२ कम्पनीको १६ लाख ५४ हजार दुई सय ५१ कित्ता सेयर ४६ करोड ३६ हजार पाँच सय ७१ मा कारोबार भयो । कारोबार भएका ११ मध्ये दुई उपसमूहको सूचक उकालो लागेको छ । बैंकिङ १.९ र जलविद्युत् १.२७ बिन्दुले बढेको छ । 
यस्तै, होटल २०.४४, विकास बैंक ३.५२, वित्त ०.६१, निर्जीवन बिमा २.९९, उत्पादन १९.२८, अन्य २.१२, लघुवित्त ५.५३, जीवन बिमा २४.४ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले घटेको छ । 
स्टकका अनुसार कारोबार रकमका आधारमा बिहीबार नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो । सो बैंकको पाँच करोड २९ लाख ६२ हजार दुई सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ । 
यस्तै, शिवम् सिमेन्ट तीन करोड २० लाख दुई हजार तीन सय ८९, सिभिल बैंक एक करोड ७७ लाख ४२ हजार एक सय ६७, एनआइसी एसिया बैंक एक करोड ७४ लाख १७ हजार आठ सय सात, एनसिसी बैंक एक करोड ४६ लाख एक हजार आठ सय १९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ४५ लाख ५३ हजार चार सय २७ रुपैयाँको कारोबार भएको छ । 
परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.७३ प्रतिशतले कमाए । यस्तै, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.२५, घलेम्दी हाइड्रो २.३३, आइएमई जनरल इन्स्योरेन्स २.२७, गुराँस लघुवित्त वित्तीय संस्था २.०४ र एनआइबिएल समृद्धि फन्ड १ का लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । 
यस्तै, मल्टिपर्पोज फाइनान्स कम्पनी ५.६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.१०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४.३४, जोशी हाइड्रोपावर ३.७९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.६२ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ३.५१ प्रतिशतले गुमाए । 
हिमालय बैंकको तीन अर्बको ऋणपत्र बिक्री हुने
हिमालयन बैंकले आगामी साउन २ गतेदेखि तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बिहीबार एक आह्वानपत्र सार्वजनिक गर्दै प्रतिकित्ता एक हजारका दरले ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो । ऋणपत्र बिक्री बन्द छिटोमा आगामी साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म तोकिएको छ । 
बिक्री गर्न लागिएको ऋणपत्रमध्ये ४० प्रतिशत (एक अर्ब २० करोड बराबर) सर्वसाधारणलाई र एक अर्ब ८० करोड संस्थापक लगानीकर्तालाई छुट्ट्याइएको छ । ऋणपत्र खरिद गर्न चाहनेले न्यूनतम २५ देखि अधिकतम ३० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । सात वर्षपछि परिपक्व हुने सो ऋणपत्रबाट उठ्ने रकम बैंकले कर्जा सापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने आह्वान पत्रमा उल्लेख छ । 


 

यसमा तपाईको मत