बजार संक्षेप

एनएमबि बैंक द्विपक्षीय समझदारीमा

  नागरिक   2020-02-09

काठमाडौं– एनएमबी बैंक र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच एक समझदारी सम्पन्न भएको छ ।
संघका सदस्यको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिमा साझेदारी गर्ने उद्देश्यले उक्त समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका अध्यक्ष श्रीमती देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।
बैंकले परम्परागत बैंकिङभन्दा केही फरक रुपमा देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्ना स्रोत र साधनलाई परिचालन गरिरहेको र साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशील विकास प्रवद्र्घन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिँदै आएको जनाउँदै यही प्रयासलाई निरन्तरता दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत