बजार संक्षेप

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

  नागरिक   2020-01-22

काठमाडौं– एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । यो पोहोरको तुलनामा वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड) ले बढी भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ३३ प्रतिशत (५० करोड) को वृद्धि सहित दुई अर्ब एक करोड खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यो बैंकले एक अर्ब ५१ करोड खुद मुनाफा कमाएको थियो ।
यस आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्बले वृद्धि गरी एक सय ६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी एक सय ८६ अर्ब पुर्याएको बैंकले जनाएको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधीकरण गर्दै आएको जनाएको छ । उसले कुल कर्जाको ७२ प्रतिशत यस्ता क्षेत्रमा लगानीको गरेको छ । त्यसैगरी, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने सर्त पूर्ण रुपले पालना गरेको जनाएको छ ।
विविधीकरणकै रणनीति अनुरुप बैंकको उच्चतम १० ग्राहकको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको बताइएको छ । 
निक्षेपतर्फ पनि विविधीकरणको रणनीति अनुरुप अघि बढेको बैंले जनाएको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४ प्रतिशत रहेको र चालु आवको ६ महिनामा ६ अर्बले कल निक्षेप घटाएको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत