बजार संक्षेप

एनआइसी एसिया–सूर्या लाइफ समझदारी

  नागरिक   2020-02-06

काठमाडौं– एनआइसी एसिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवा प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बिमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
एनआइसी एसियाले डिजिटल भुक्तानीलाई व्यापकता दिँदै आइरहेकामा पछिल्लोपटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने जनाएको छ । यो समझदारी अनुसार सूर्या लाइफका ग्राहकले एनआइसी बैंकको क्युआर कोड, कार्ड पिओएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यम प्रयोग गरी रकम भुक्तानी गर्न सक्नेछन् ।
यो समझदारीसँगै सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउने र भीडरहित एवं सरल सेवा प्राप्त गर्न सक्ने बताइएको छ । बैंकले भविष्यमा सञ्चालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकलाई उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एनआइसी एसियाले पनि यसै गरी डिजिटल भुक्तानीलाई बढाउँदै लाने जनाएको छ ।
एनआइसी एसियाले ३१३ शाखा कार्यालय, ४४१ एटिएम, १०४ एक्सटेन्सन काउन्टर एवं ४८ वटा शाखारहित बैंकिङमार्फत देशभर बैंकिङ सेवा दिइरहेको छ ।
 

यसमा तपाईको मत