बजार संक्षेप

गुराँस लघुवित्त, कुमारी बैंक र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  नागरिक   2021-10-24

नेप्सेमा सूचीकृत ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिने रहेको छ। कात्तिक ८ गते गुराँस लघुवित्त, कुमारी बैंक र शिवम् सिमेन्ट्सले बुकक्लोज गर्दैछन्। त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी तीनवटै कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।

गुराँस लघुवित्तले लाभांश पारित गर्न कार्तिक २२ गते सोमबार दिनको ११ बजे न्यू अञ्जुली होटल, धनकुटामा छैठौं वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६.९०६४ प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार रुपैयाँ नगद लाभांश साधारण सभाबाट पारित गर्नेछ।

यस्तै, लघुवित्तको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ।

त्यसैगरी, कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक १६ गते आफ्नो नक्साल कार्यालयमा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ। सो सभामा अनलाइन (जुम) मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

गत आर्थिक २०७७र०७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न शिवम सिमेन्ट्सले कात्तिक १६ गते मंगलबार, होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, कम्पनीको चुक्ता पूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ।

कात्तिक ४ गते बिहीबार गुराँस लघुवित्तको शेयर प्रतिकित्ता १५३० रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ भने, कुमारी बैंकको २७८ रुपैयाँमा र शिवम्को १२२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यसमा तपाईको मत