बजार संक्षेप

जापान तथा मध्यपूर्वमा नेपाली पानी

    2019-08-04

मिनराज भण्डारी
काठमाडौं-रुद्रगंगा नेचुरल वाटरद्वारा उत्पादित रसुवा ब्रान्डको पानी जापान तथा मध्यपूर्वका देशमा निर्यात हुने भएको छ ।
शुक्रबार खानेपानीमन्त्री बिना मगरले कम्पनीद्वारा उत्पादित उक्त पानीको उद्घाटन गर्दै सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुरुप नेपालको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यातको वातावरण बन्दै गएको जानकारी गराइन् ।
हिजो नेपालले पानी निर्यातबाट देशमा समृद्धि ल्याउन सकिन्छ भन्दा हाँस्नेले अबको केही महिनाभित्रै पानी निर्यात भएको देख्न सक्ने उनको भनाइ छ ।
समुद्रको प्रशोधित पानी आयात भइरहेको समयमा नेपालमा उत्पादित पानी निर्यात गरेर देशको अर्थतन्त्रमा टेवा पु¥याउने युगको सुरुवात भएको उनको धारणा छ ।
नेपालको प्रमुख कच्चा पदार्थको रुपमा रहेको पानीलाई निर्यातको मार्गमा ल्याउन सके सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा जोड पुग्ने उनले बताइन् ।
हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दै उनले विश्व बजारतर्फ निर्यातमा सरकारले सहयोग गर्ने धारणा राखिन् ।
‘नेपालको पानी प्राकृतिक रूपमै स्वच्छ र खानयोग्य छ । अन्तर्राष्ट्रिय बजारमा हामी प्रतिस्पर्धामा उत्रन सक्छौं,’ उनले भनिन्, ‘विदेश निर्यातमा सरकार सधैं सहयोगी रहनेछ ।’
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राज्यको प्रमुख चुनौतीको रुपमा रहेको व्यापार घाटा कम गर्न निर्यातमुखी उद्योग स्थापनाले अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।
देशमा सञ्चालित उद्योग–धन्दा पछिल्लो समय बैंकको चर्काे ब्याजदरका कारण धराशयी बन्ने स्थितिमा पुगेको भन्दैै उनले बढी पैसा कमाउने होडबाजीमा नलागी उत्पादित वस्तुको गुणस्तरमा जोड दिँदै ब्रान्ड स्थापित गर्नेतर्फ लाग्न आग्रह गरे ।
‘विश्वमा स्वच्छ पानीको कमी हुँदै गएको छ । यस्तो अवस्थामा नेपालको पानीले देशमा समृद्वि ल्याउन सक्छ,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘निर्यातमा जोड दिने उद्योगलाई सरकारले पनि सहयोग गर्न सक्नुपर्छ ।’
फ्रान्सको पानी विश्वभर प्रसिद्ध भइरहँदा नेपालको पानीले विश्व बजारमा पहिचान दिन नसक्ने भन्ने सबाल नै नहुने उनको भनाइ छ । 
कम्पनीका अध्यक्ष गणेश भण्डारीले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिकामा प्लान्ट स्थापना गरेर हिमालय क्षेत्रबाट बगेर आउने पानीलाई जर्मन प्रविधि र अत्याधुनिक मेसिनको प्रयोग गरी अटोमेटेड बोटलिङ पक्रियामार्फत उत्पादन सुरु भइसकेकोे जानकारी गराए ।
‘दैनिक बोतलमा ५० हजार लिटर र तीन हजार जार प्राकृतिक स्प्रिङ वाटर उत्पादन गर्ने लक्ष्य अनुरुप काम सुरु गरिएको छ,’ उनले भने । 
नेपाली बजारमा तुरुन्तै र खाडी तथा अन्य मुलुकमा डिसेम्बरसम्ममा पानी निर्यात गर्ने जानकारी दिँदै उनले मूलको पानीलाई रिजर्भ ट्यांकी हुँदै स्यान्ड फिल्टर, कार्बन फिल्टर, माइक्रो फिल्टर र अल्ट्रा फिल्टरको माध्ययमबाट प्रशोधन गरी अल्ट्राभाइलेट लाइटको माध्ययमबाट शतप्रतिशत शुद्ध बनाइएको बताए । 
उद्योग स्थापनामा १० करोडभन्दा बढी खर्च भइसकेको उनको भनाइ छ । यसमा १५ करोडसम्म लगानी पुग्न सक्ने पनि भण्डारीले बताए । 
प्राविधिक परीक्षणबाट पानीको गुणस्तरमा कुनै कमी–कमजोरी नदेखिएको बताउँदै उनले अत्याधुनिक मेसिनबाट सम्पूर्ण कार्य सम्पन्न हुने भएकाले पानीमा कुनै सन्देह नरहेको प्रस्ट पारे ।
‘पछिल्लो समय नेपालमा जलविद्युत्मा लगानी बढ्दै गएको छ । जल निर्यातमा पनि लगानीका वातावरण बन्दै जान आवश्यक छ,’ उनले भने । उत्पादित पानीको सद्भावना दूतको रुपमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नियुक्त गरिएको तथा पानीको बजार मूल्य चाँडै सार्वजनिक हुने उनले बताए ।

यसमा तपाईको मत