बजार संक्षेप

नेपाली कागजले बजार पाएन

  नागरिक   2019-12-02

दार्चुला– दुर्गममा उत्पादित नेपाली हातेकागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग संकटमा परेको छ । सञ्चालक राइमले ठगुन्नाका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको उत्पादनले बजार नपाउँदा संकटको अवस्थामा पुगेको हो ।
आर्थिक वर्ष ०६२–०६३ मा स्थापना भएको उद्योगले स्थानीय कच्चा पदार्थबाट नेपाली कागज उत्पादन गर्दै आएको छ । उत्पादित वस्तु महँगो भएको भन्दै बिक्री भएको छैन । विगतमा लोक्ताबाट नेपाली कागज उत्पादन गर्दै आएको उद्योगले यो वर्षदेखि मकैबाट पनि कागज उत्पादन गरेको छ । झण्डै १० हजार प्रति उत्पादन गरिए पनि बिक्री भएको छैन ।
गरिबी निवारण कोष, लघु उद्यम, घरेलु तथा साना उद्योग विकास समिति, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय लगायतको सहयोगमा स्थापना गरिएको उद्योगको सामग्री बिक्री वितरणको व्यवस्थापन नहुँदा धराशयी अवस्थामा पुगेको ठगुन्ना बताउँँछन् । अहिले उद्योगमा समूहका ६ जनाले रोजगारी पाएका छन् । तर उत्पादन गरिएको सामग्री बिक्री नहुँदा समस्या भएको उनको गुनासो छ ।
उद्योगले मकै, गहुँ, जौ, लोक्ता र धानको पराललगायत कच्चा पदार्थबाट कागज उत्पादन गर्ने गरेको छ । ‘नेपाली कागजलाई चाहिने कच्चा पदार्थ स्थानीयस्तरमा प्रशस्त मात्रा छ, तर बजारीकरण छैन,’ स्थानीयवासी अमरसिंह ठगुन्नाले भने । यस क्षेत्रमा उत्पादित सामग्री बिक्रीका लागि बजार नहुँदा रोजगारी गुम्ने अवस्थामा पुगेको ठगुन्ना बताउँछन् । ‘स्थानीय उत्पादनलाई सरकारी कार्यालयले प्रयोग गरे हाम्रो पनि रोजगारी रहन्थ्यो,’ उनले भने ।
यो वर्ष नौगाड गाउँपालिकाले उत्पादित कागज खरिद गर्ने तयारी गरे पनि प्रिन्टरले काम नगर्दा खरिद गरेन । गाउँपालिकाले हालसम्म उद्योग प्रवद्र्धनमा भने सहयोग नगरेको सञ्चालक ठगुन्नाको गुनासो छ । गत वर्ष सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले ५०० प्रति नेपाली कागज खरिद गरेको थियो । अहिले गाउँमा उत्पादन गरेको नेपाली कागज एक प्रतिको १० रुपैयाँमा बिक्री गर्ने गरेको उनीहरु बताउँछन् ।
ऊन कार्डिङ मेसिन प्रयोगविहीन
घरेलु तथा साना उद्योग विकास कार्यालय दार्चुलाले दुई दशकअघि खरिद गरेको ऊन कार्डिङ मेसिन प्रयोगविहीन बनेको छ । विसं २०५३ मा भारतको लुधिआनाबाट झण्डै ५० लाख लागतमा खरिद गरिएको मेसिन प्रयोगविहीन बनेको हो ।
मेसिन सञ्चालनका लागि पहल नहुँदा वर्षौंदििेख कार्यालयको गोदाममै थन्किएको कार्यालय प्रमुख गंगा मगरको भनाइ छ । नेपालसँगै भारत र चीनसमेतको कच्चा पदार्थ ल्याएर दैनिक ७० किलोग्रामसम्म ऊन प्रशोधन गर्ने मेसिन मर्मत सम्भारमा ध्यान नदिँदा थन्किएको छ ।
कार्डिङ मेसिन सञ्चालनको लागि सरकारले बजेट विनियोजन गरेको छैन । जिल्लामा उत्पादन हुने कच्चा सामग्री संकलन गरेर मेसिन प्रयोगमा ल्याउन सके स्थानीयको रोजगारीसमेत सिर्जना गर्न सकिने मगरको भनाइ छ । जिल्लामा ऊन र अल्लोलगायत कच्चा पदार्थ भए पनि उद्योग स्थापना नहुँदा संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।
 

यसमा तपाईको मत