बजार संक्षेप

सानिमा बैंक र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

  नागरिक   2021-10-24

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले सानिमा बैंक र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन गरेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुको बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले सानिमाको १७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने माछापुच्छ्रेको १३.३० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सानिमाको शेयरमूल्य ४१७ रुपैयाँ ७८ पैसा र माछापुच्छ्रेको ३२२ रुपैयाँ ७ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो। गत बिहीबार सानिमा बैंकको शेयर प्रतिकित्ता ४८८ रुपैयाँ ८० पैसा र माछापुच्छ्रेको ३६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

आइतबार सोही समायोजित मूल्यलाई आधार मानेर यी दुबै बैंकहरुको शेयर कारोबार खुल्नेछ।

सानिमा बैंकले कात्तिक १४ गते आईतबार,आम्रापाली ब्याङ्क्वेट, बालुवाटार काठमाडौंमा १७ औं वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, माछापुच्छ्रे बैंकले कात्तिक २६ गते, होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा तेइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुने शेयरधनीहरुलाई जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

यसमा तपाईको मत