बजार संक्षेप

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

    2019-08-19

काठमाडौं– नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । नेपालका लागि फिलिपिन्सका अवैतनिक वाणिज्यदूत सुरज वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न सभाले शोभा ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । 
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुसन प्रधान, उपाध्यक्षमा नेन्सी थापा, महासचिवमा लुसी थापा, सहसचिवमा सिला माव मिन्टो तथा कोषाध्यक्षमा समिर ओझा चुनिएका छन् ।
सभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ज्ञवालीले नेपाल र फिलिपिन्सबीचको पारस्परिक सम्बन्ध तथा सहयोगको माध्यमबाट नेपालमा औद्योगिक र व्यापारिक क्षेत्रको विकास तथा विस्तारमा सधाउ पुर्याउन आफ्नो कार्यकालले महत्वपुर्ण भूमिका खेल्ने जानकारी गराइन् । 
‘दुई देशबीचको आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रको विकास तथा पर्यटन प्रवर्धनमा नेतृत्वले भूमिका निभाउने छ,’ उनले भनिन् । 
नेपाल र फिलिपिन्सका उद्योगी, व्यापारी लगायत अन्य व्यावसायिक समुदायबीच सम्पर्क र सहयोग प्रवर्धनमा संस्थाको नेतृत्वले निभाउनुपर्ने भूमिकामा जोड दिने पनि उनको भनाइ छ । आफ्नो कार्यकालमा फिलिपिन्स र नेपालबीच द्विपक्षीय सहयोग, व्यापार–वाणिज्य र लगानीका क्षेत्रमा काम गर्ने उनको प्रतिबद्धता छ ।
‘नयाँ अवसरको खोजी र दुई देशबीचको सम्बन्ध विस्तारमा जोड दिँदै नयाँ कार्यसमितिले संस्थाका उद्देश्यलाई थप उचाइमा पुर्याउन र दुवै देशका व्यापारिक समूहबीचको सम्बन्ध अझ बलियो बनाउन जोड दिनेछ,’ उनले भनिन, ‘एक अर्को देशका व्यापारिक सम्भावनामा लगानी गर्न सहज वातावरण बनाउने तथा दुवै देशका क्षमतालाई यथार्थमा परिवर्तन गर्ने जिम्मा आफ्नो रहेकाले त्यसैमा आफ्नो कार्यकाल केन्द्रित रहने छ ।’
व्यापारिक लगानीको क्षेत्र पहिचान र लगानीमा सहजीकरण गर्न नेतृत्वले अहम् भूमिका निभाउने उनले प्रस्ट पारिन् । दुई देशबीच व्यावसायिक सीपहरुको विनिमय गर्नुका साथै दुईपक्षीय सम्बन्धका आधारमा नयाँ रोजगारीका अवसर सिर्जना गर्न नेतृत्व केन्द्रित रहने उनको धारणा छ ।
नेपालमा फिलिपिनो नागरिकको समुदाय सानो रहे पनि उनीहरुले नेपालको आर्थिक विकासमा धेरै सहयोग पुर्याएको ज्ञवालीले बताइन् । 
‘नजिँकिदै गरेको पर्यटन वर्षमा टेवा पुर्याउन संस्थाले अहम् भूमिका निभाउनेछ । दुई देशबीच पर्यटन र मैत्री सम्बन्धको विस्तारमा पनि नेतृत्वले क्रियाशील भएर काम गर्नेछ,’ उनले भनिन् । 
दुई देशबीचको व्यापार अभिवृद्धिमा पनि काम गर्ने उनले बताइन् । 
कार्यक्रममा बोल्दै संस्थाका महासचिव लुसी थापाले नेपाल र फिलिपिन्सको सम्बन्ध विस्तारमा संस्थाको तर्फबाट पुर्याउने योगदानबारे जानकारी गराइन् । नेपाल र फिलिपिन्सबीच धर्म र संस्कृतिको मात्र समानता नरहेको जनाउँदै उनले दुई देशबीच व्यापारिक तथा शैक्षिक सम्बन्ध रहेको स्मरण गराइन् । 
संस्थाले नेपाल र फिलिपिन्सको आर्थिक तथा शैक्षिक सम्बन्धलाई जोड्न पुलको काम गर्ने उनको विश्वास छ । नयाँ नेतृत्वबाट दुई देशबीच प्रविधि हस्तान्तरण  तथा लगानीको प्रवर्धनमा जोड रहने उनको भनाइ छ । ‘नयाँ नेतृत्वले संस्थाको गर्नुपर्ने कार्यलाई जिम्मेवारपूर्ण तरिकाले सम्पन्न गर्नेछ,’ उनले भनिन्, ‘सांस्कृतिक तथा आर्थिक आदानप्रदानमा संस्था कोशेढुंगा साबित हुनेछ ।’
अवैतनिक महावाणिज्यदूत सुरज वैद्यले झण्डै दुई हजारभन्दा बढी नेपालीले फिलिपिन्सबाट शैक्षिक योग्यता हासिल गरेको तथा दुई देशबीचका केही सांस्कृतिक तथा धार्मिक आधारहरु समान रहेकाले पनि संस्थाले आर्थिक तथा पर्यटन विकासमा जोड दिने धारणा व्यक्त गरे ।
दुई देशबीच आपसी समन्वय विस्तारबाट नेपालको पर्यटन उद्योगमा सहयोग पुग्ने र नयाँ कार्यसमितिबाट आर्थिक विकासको लक्ष्यसँगै पर्यटन प्रवद्र्धनमा जोड पुग्ने उनले बताए ।
‘कुनै पनि मूलुकको आर्थिक समृद्धि नेतृत्वबाट सम्भव रहेकाले नयाँ नेतृत्वले दुई देशबीचको सम्बन्धमा जोड दिनेछ,’ उनको भनाइ छ । 
कार्यसमिति सदस्यमा जानकी गुरुङ, सरु अर्याल, रमा कँडेल, सविन्द्र दाहाल, श्रृली सिटौला, सौभ जुवा तथा मरिभिक गुरुङ छानिएका छन् ।

यसमा तपाईको मत