बजार संक्षेप

‘बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’

  नागरिक   2021-09-28

बजारमा हुने बेथिति नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार राजधानीमा आयोजना गरेको ‘बजार अनुगमन र सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियाका सहभागीले यस्तो धारणा राखेका हुन्।

सहभागीहरूले बजारलाई व्यवस्थित र स्वच्छ बनाउन उत्पादक, बिक्रेता, उपभोक्तादेखि सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने बताए। चाडपर्व नजिकिँदै जाँदा बजारमा मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव सृजना हुनसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरे।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बजारमा हुने बेथिति नियन्त्रण गर्नका लागि सरकारले सघन, विशेष र नियमित अनुगमन गरिरहेको बताए।

बजारमा हुनसक्ने गलत क्रियाकलाप नियन्त्रण गर्नका लागि सरकारी संयन्त्र परिचालन गरिएको उनले बताए। ‘मूल्य, स्टक, गुणस्तर र तौलको अनुगमन गरिरहेका छौं,’ भट्टराईले भने, ‘चाडपर्वलक्षित अनुगमन प्रभावकारी बनाएका छौं।’ बजारमा दुई प्रकारले वस्तुको मूल्यवृद्धि हुने बताउँदै सरकारी निकायले आफ्नो सक्रियता वृद्धि गर्ने बताए। ‘खुला बजारले मूल्य नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘बजारलाई सन्तुलित बनाउने प्रयास गरेका छौं।’ बजारमा मूल्यवृद्धि हुन नदिनका लागि सरकारी लगानी रहेका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन गरेको बताए।

ती पसलमा नुन, चिनी, चामललगायत खाद्यान्नमा छुट दिएको  जानकारी दिए। बजारमा चिनीको अभाव हुनसक्ने सहभागीको जिज्ञासामा सचिव भट्टराईले चिनीको पर्याप्त स्टक रहेको बताएका थिए। चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुन सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए।

बजारमा धेरै तह भएकाले केही वस्तुमा मूल्यवृद्धि भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल स्वीकार गरे। ‘बजारको तह बढेकाले केही वस्तुमा मूल्य बढेको छ,’ महानिर्देशक शर्माले भने, ‘निजी क्षेत्र जिम्मेवार बन्नुपर्छ।’ नुन र पेट्रोलियम पदार्थबाहेक सबै दैनिक उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने जिम्मेवार उत्पादक भएकाले निजी क्षेत्र जवाफदेही हुनुपर्ने उनले धारणा राखे।

विभागका निर्देशक शिवराज सेढाईले स्थानीय तहसँग समन्वय गरेर पनि बजार अनुगमन गरिरहेको बताए। बजार अनुगमनमा केही न केही कैफियत देखिएकोमा भने उनले चिन्ता व्यक्त गरे।

चाडपर्वको मौकाछोपी बजारमा हुनसक्ने मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभावलाई नियन्त्रण गर्नका विभागले अनुगमनलाई बढाएको जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा ६ वटा टोली बनाएर परिचालन गरिएको जानकारी दिएको छ।

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई प्रभावकारी बनाएको विभागको दाबी छ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका देवेन्द्र श्रेष्ठले सरकारी निकायले बजार अनुगमन गर्दा हतोत्साहीभन्दा सचेत गराउने गरी अनुगमन गर्नुपर्ने बताए। ‘अनुगमन ३ सय ६५ दिन नै गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘नियतवश बदमासी गरेको हो वा अनजानमा गल्ती गरेको त्यसलाई छुट्याएर मात्र कारबाही गर्नुपर्छ।’

नेपाल उद्योग वाणिज्य महासंघका ओमप्रकाश वंसलले अनुगमनको नाममा व्यापारीलाई त्रसित पार्न नहुने बताए। व्यापारीलाई हेर्ने दृष्टिकोण गतल भएको टिप्पणी गरे। ‘चाररपाँच प्रतिशत व्यापारीले गलत गरे भनेर ९५ प्रतिशतलाई नकारात्मक दृष्टिकोणले हेर्नु भएन,’ उनले भने, ‘अनुगमन व्यवसायमैत्री हुनुपर्छ।’ कार्यक्रममा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुमगनलाई प्रभावकारी बनाउनुपर्ने बताए। स्थानीय तहमा अनुगमन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

 

यसमा तपाईको मत