बजार संक्षेप

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

  नागरिक   2019-12-16

काठमाडौं– नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । निगमले हाल उडान गरिरहेको अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त जापान र चीनमा उडान भर्ने भएको हो । 
निगमका अनुसार जापानको नारितामा मार्च पहिलो साताबाट र चीनको ग्वान्जाउमा मार्च दोस्रो साताबाट उडान सुरु हुनेछ । 
यी उडानले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा योगदान हुने निगमको विश्वास छ । पर्यटकीय दृष्टिकोणले दुवै गन्तव्यहरु नेपालको लागि अति उपयुक्त रहेको जनाउँदै निगमले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अपेक्षा छ ।
यी उडान थपिएपछि पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे निगमले जनाएको । यी दुई गन्तव्यको उडान थपिएपछि ए३२० न्यारो बडी र ए३३० वाइडबडीको उडान घन्टा वृद्धि भई पूर्ण उपयोगमा आउने निगमले जनाएको छ ।
हाल निगमले भारतको दिल्ली, बैंगलौर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ उडान भर्दै आएकोमा दुवै गन्तव्यको उडानपछि १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने जनाएको छ । निगमसँग हाल दुई ए३२० न्यारो बडी र दुई ए३३० वाइडबडी विमान रहेका छन् । 

यसमा तपाईको मत