बजार संक्षेप

वायुसेवा निगमले घटायो ओसाका उडान संख्या

  नागरिक   2019-09-04

काठमाडौं– जापानको ओसाका उडान सुरु गरेको पाँच दिनमै नेपाल वायुसेवा निगमले उडान संख्या घटाएको छ ।     
हप्तामा तीन दिन ओसाकाको सिधा उडान सुरु गरेको निगमले सेप्टेम्बरसम्मको लागि बिहीबारको उडान बन्द गरेको छ ।
यसअघि मंगलबार, बिहीबार र शनिबार गरेर हप्तामा तीन उडान भर्ने उडान तालिका सार्वजनिक गरेको निगमले बिहीबार बाहेकका दिनमा भने उडान जारी रहने जनाएको छ । 
‘पर्यटकको अफ सिजन रहेको र यात्रु कम भएकाले हाललाई हप्तामा दुई दिनमात्रै उडान हुने भएको छ,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘हालसम्म तीन उडान भरिसकेको जहाजमा यात्रुको संख्या सोचेअनुरुप देखिएन । ५०–६० जना मात्रै यात्रु हुने भएपछि हाललाई एक दिन घटाउनुपर्ने भएको हो । दोहोरो उडानको क्रममा एक करोड रुपैयाँ खर्च हुने तर विमान खालि उड्ने भएकाले एक दिन घटाइएको हो ।’ 
सेप्टेम्बरसम्मलाई उक्त निर्णय भए पनि दसैं, तिहारको अवसरमा नेपाल आउने यात्रु संख्या पनि बढ्दै जाने र पर्यटकीय सिजन सुरु भएसँगै पुनः तालिका संख्या बढ्दै जाने पनि उनको भनाइ छ ।
वाइड बडी नेपाल भित्राएको  एक वर्षपछि भदौ १२ गते ओसाकास्थित कन्साई इन्टरनेसनल विमानस्थलमा निगमको दुई सय ७४ सिट क्षमताको वाइड बडी ए–३३०–२०० जहाजले पहिलो उडान भरेको थियो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानको उद्घाटन गरेपछि पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधि सहित एक सय ३० जना जापानको ओसाका पुगेका थिए ।
     
सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै उडान स्थगन गरेपछि काठमाडौंदेखि चीनको सांघाई हुँदै ओसाका उडाउने गरेको थियो ।     
 

यसमा तपाईको मत