बजार संक्षेप

ग्वाङ्जाओ उडान सुरु गर्ने तयारीमा वायुसेवा निगम

  नागरिक   2019-12-04

काठमाडौं– रााष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्जाओ उडान भर्ने भएको छ । लामो समयदेखि नयाँ गन्तव्यमा उड्न नसकेको निगमले उक्त गन्तव्यमा व्यावसायिक उडान भर्ने तयारी गरेको हो ।
आगामी जनवरी अन्तिमदेखि ग्वाङ्जाओ उडान भर्न चिनियाँ सिभिल एभिएसनले निगमलाई स्वीकृति दिइसकेको जनाइएको छ । निगमले ग्वाङजाओमा सातामा तीन दिन उडान भर्नेछ ।     
हालसम्म चिनियाँ एभिएसनले राख्दै आएको सुरक्षासम्बन्धी चासोमा निगमले चित्त बुझ्दो जवाफ दिएपछि उक्त गन्तव्यको यात्रा निश्चित भएको निगम स्रोतले जानकारी गराएको छ ।
‘चिनियाँ सिभिल एभिएसनले आधिकारिक पत्र नपठाए पनि मौखिक रुपमा फोनमार्फत ग्रिन सिग्नल दिएको छ,’ स्रोतले भन्यो । चिनियाँ एभिएसनले निगमको प्राविधिक पक्षबारे प्रश्न उठाएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसलाई गरेको सम्बोधनसँगै निगमले आफ्ना कागजात चिनियाँ पक्षलाई पठाएको थियो । त्यसपछि निगमले ग्वाङ्जाओ उडानका लागि ‘स्लट’ पाएको हो ।     
यसअघि चिनियाँ पक्षले निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने बताएको थियो । सेफ्टी अडिटकै लागि चिनियाँ प्राविधिक टोली दसैं–तिहारको बीचमा नेपालको भ्रमणमा आउने चर्चाका भए पनि चीनमा सम्पन्न हवाई सम्झौताको समयमा चीनको उड्डयन विभाग र नेपाली अधिकारीबीच भएको छलफलमा आवश्यक कागजात आदान–प्रदानमार्फत उडान सुचारु गर्ने सम्झौता भएको स्रोतले बताएको छ ।     
निगमको कार्यकारी समितिले चाँडै उक्त गन्तव्यमा उडानबारे निर्णय गर्ने स्रोतको दाबी छ । हाल सञ्चालक समिति र आर्थिक विभागबिच समन्वय भइरहेको र एक हप्ताभित्रै उडानसम्बन्धी सूचना सार्वजनिक गर्ने गरी छलफल सुरु भएको जनाएको छ ।
हाल हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ तथा हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान भरिराखेको छ । योसँगै निगमले जापानको नारिता उडानको लागिसमेत अनुमति पाएको जनाइएको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले ग्राउन्ड ह्यान्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको छ । 
निगमले अहिले जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) अन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरिएको जनाएको छ । निगमले नारितामा साताको तीन दिन उडान भर्नेछ । 
 

यसमा तपाईको मत