बजार संक्षेप

नमस्ते पे मोबाइल भुक्तानी सेवा सञ्चालन

  नागरिक   2021-09-15

मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन सुरु गरिएको छ ।


२०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच भएको समझदारीको अनुसार २०७७ साउन १३ मा विधिवत रूपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना भएको थियो । सोही कम्पनीमार्फत मंगलबारदेखि नमस्ते पे सञ्चालनमा ल्याएको हो ।
सेवाको प्रारम्भिक सञ्चालन पश्चात्देखिने समस्याहरूको पहिचान र दिगो समाधान गर्न तथा क्रमिक रूपमा सेवाहरू थप गर्दै समग्र नमस्ते पे सेवालाई थप ग्राहकमुखी र उपयोगी बनाउँदै लैजान कम्पनी प्रतिबद्ध छ ।


 सार्वजनिक क्षेत्रबाट पहिलोपटक सुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोगमार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा छ । नमस्ते पेमा नेपाल टेलिकमले २५ करोड र राष्ट्रिय वाणिज्य बैंकले १५ करोड रूपैयाँ लगानी गरेका छन् । संयुक्त रूपमा ४० करोड रूपैयाँ लगानी रहेको नमस्ते पेमा टेलिकमको हिस्सा ६३ प्रतिशत र बैंकको ३७ प्रतिशत रहेको छ ।

यसमा तपाईको मत