बजार संक्षेप

श्री लालीगुराँसको सभा सम्पन्न

  नागरिक   2019-11-24

काठमाडौं– ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष, बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको संस्थाको विज्ञप्तिमा उल्लेख छ । 
सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले सहकारी क्षेत्रमा श्री लालीगँुरासले गरेको योगदानको पनि चर्चा गरेका छन् । 
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले आर्थिक वर्ष ०७५/७६ मा सहकारीले हासिल गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीबारे चर्चा गरे । नेपालको सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, राजस्व, रोजगारी लगायत अन्य क्षेत्रमा यसले अग्रणी स्थान लिएको अध्यक्ष श्रेष्ठको दाबी छ । 
कार्यक्रममा बोल्दै संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर सञ्चालित करिब ३५ हजार सहकारीमा यसले उत्कृष्ट पहिचान बनाएको दाबी गरे । 
देशभर ३५ हजारभन्दा बढी सहकारी संस्था दर्ता भएका छन्, त्यसमा २९ हजारभन्दा बढी क्रियाशील छन् । पछिल्लो तथ्यांक अनुसार सहकारी क्षेत्रको वित्तीय कारोबार कुल कारोबारको २५ प्रतिशतभन्दा बढी छ । सहकारीले ६ खर्ब ४५ अर्बभन्दा बढी निक्षेप परिचालन, ६ खर्ब ७१ करोडभन्दा बढी कर्जा लगानी, ७६ अर्ब ३४ करोड बराबर सेयर पुँजी संकलन गरेका छन् । प्रत्यक्ष रुपमा तीन लाखभन्दा बढीले यस क्षेत्रमा रोजगारी पाएको बताइन्छ । 
सचिव भण्डारीले देशभर ७० लाखभन्दा बढी नागरिकले सहकारी संस्थाको सदस्यता लिएको उल्लख गर्दै स्थानीय तहमा युवा, महिला लगायत बृद्धबृद्धासमेत सहकारीमा आवद्ध भई उत्पादन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायतका उद्यमशील काम गरिरहेको जानकारी दिए । 
सहकारी क्षेत्रको पँुजीलाई ऊर्जा, पर्यटन, पशुपालन, कृषि लगायत मझौला तथा ठूला परियोजना तथा उद्योगमा लगानी गर्ने वातावरण तयार गरी सहकारीमार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा राख्दै भण्डारीले सहकारीमार्फत बचत, ऋण लगायत उत्पादनको कार्य गर्न वर्तमान सहकारी ऐन २०७४ संशोधन गर्नुपर्ने बताए । 
सहकारीमार्फत देशको आर्थिक विकास गर्न सहकारीमैत्री कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिए । सरकारको तीनखम्बे अर्थनीतिको लक्ष्य हासिल गर्न सहकारी क्षेत्रमा लगानी बढाउनुपर्ने उनको धारणा छ । संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउने पनि उनले जानकारी गराए । संस्था स्थापना भएको दुई दशकमा यसको सेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको छ । 
संस्थाले चितवनको खैरहनीमा देशकै ठूलो गाई फार्म सञ्चालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्थामार्फत आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइयो छ । फागुनसम्म सञ्चालनमा ल्याउने तयारी सहित ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग निर्माण कार्य भइरहेको पनि जानकारी गराइयो । 

यसमा तपाईको मत