बजार संक्षेप

काञ्जिरोवामा स्टिम प्रशिक्षण

    2019-08-19

काठमाडौं– कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल रोबोटिक्स संघसँगको सहकार्यमा काञ्जिरोवाद्वारा आयोजित उक्त प्रशिक्षणमा काठमाडौं उपत्यकाका १८ विभिन्न विद्यालयका २८ विज्ञान र गणित विषयका शिक्षकको सहभागिता रहेको बताइएको छ । नेपाल रोबोटिक्स संघ र संयुक्त राज्य अमेरिकाका अन्य केही संस्थाको सहयोगमा विद्यालयमा सञ्चालित स्टिम परियोजनाबाट विगत पाँच वर्षदेख काञ्जिरोवाका विद्यार्थीहरू लाभान्वित भइरहेका छन् । 
विज्ञान र प्रविधिप्रति झुकाव भएका युवापुस्तालाई स्टिमसम्बन्धी नविन अभ्यास र प्रयोगका बारेमा जानकारी दिई स्टिमको अवधारणाबारे प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयको विज्ञप्तिमा उल्लेख छ । प्रशिक्षणमा स्टिम शिक्षा, साजसज्जासम्बन्धी चिन्तन, ड्रोन र यसको सञ्चालन तथा थ्रिडी प्रिन्टिङको प्रयोग, परीक्षण र प्रदर्शनका विषयमा छुट्टाछुट्टै प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी शिक्षकहरूले कार्यक्रमको विषयवस्तुसँग जोडिएका विभिन्न जिज्ञासाहरू समेत राखेका थिए । 
प्रशिक्षणलाई सम्बोधन गर्दै संस्थाका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले काञ्जिरोवाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ–संस्थासँगको सहकार्यमा स्टिम परियोजना सञ्चालन गर्दै आइरहेको र नेपालमा थ्रिडी प्रिन्टिङ प्रयोगमा ल्याउने पहिलो विद्यालय काञ्जिरोवा हुन पाएकोमा आफूहरूलाई गौरव अनुभूति भएको धारणा राखे । कार्यक्रमको अन्त्यमा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी शिक्षक–शिक्षिकाहरूलाई आयोजकका तर्फबाट प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

यसमा तपाईको मत