बजार संक्षेप

भारतीय बजारमा आई टेन नियोस

    2019-08-22

भारत (नयाँ दिल्ली)– सवारी साधन उत्पादनमा लोकप्रिय कम्पनी हुन्डाई मोटर इन्डिया लिमिटेडले सहरी युवा पुस्तालाई लक्षित गरी ‘ग्रान्ड आई टेन नियोस’ नामको नयाँ कार सार्वजनिक गरेको छ ।
भारतको नयाँ दिल्लीमा मंगलबार एक भव्य कार्यक्रम गरी सार्वजनिक गरिएको यो कार विभिन्न सुविधासहित बोल्ड र स्टाइलिस डिजाइनमा बनाइएको छ । नयाँ कार नियोस सार्वजनिक गर्दै हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एसएस किमले भारतीय बजारमा आई टेनले पाएको ठूलो सफलतापछि यो नयाँ भर्सन बजारमा ल्याइएको बताए । ‘हुन्डाईका उत्पादनको विश्व बजारीकरणको योजनाका लागि भारतीय बजार मुख्य विन्दु हो,’ एसएस किमले भने, ‘भारतीय  तेस्रो पुस्ताका उपभोक्ताका लागि नियोस हुन्डाईको तेस्रो उत्पादन हो ।’ 
उनले नयाँ कार नियोसले भारतीय बजारमा हामीले गरेको प्रतिबद्धता पूरा गरेको र उपभोक्तालाई सन्तुष्टि दिनेमा विश्वस्त रहेको बताए ।
‘हाम्रो कम्पनी भारतीय उपभोक्ताले चाहेजस्तै डिजाइन, स्टाइल, प्रविधिलगायतका विषयवस्तु पस्कन विश्वास गर्छ,’ एसएस किमले भने, ‘त्यसैले इन्जिनियरिङ र गुणस्तरका सवालमा उपभोक्ताका लागि नियोस भनेकै सन्तुष्टि हो ।’
सार्वजनिक यो नयाँ कार पछिल्लो पुस्ताले चाहेको जस्तै विभिन्न विशेषता र सुविधाहरूमा उपलब्ध छ । कारका भित्री भाग इन्जिन, स्पेसलगायतमा मात्र होइन यसको बाहिरी बनावट पनि आकर्षक छ । 
हुन्डाईका अनुसार बोल्ड एन्ड स्टाइलिस, प्रिमियम एन्ड स्पेसियस क्याबिन, एड्भान्स पावरटेन अप्सन, स्मार्ट एन्ड इन्नोभेटिभ टेक्नोलोजी र कम्पिट पिस एन्ड माइन्ड गरी यसलाई पाँच प्रमुख विशेषताले जोड्न सकिन्छ ।
यस्तै, नयाँ कार नियोस डिजल र पेट्रोल गरी दुईथरी इन्जिनमा उपलब्ध छ । पेट्रोल इन्जिन ११ सय ९७ सिसीको र डिजेल इन्जिन ११ सय ८६ सिसी रहेका छन् भने यो ६ कलरमा उपलब्ध छ ।
कम्पनीले नियोसका उपभोक्तालाई विभिन्न किसिमबाट सडक दुर्घटनामा वारेन्टीको सुविधा दिएको छ । एक लाख किलोमिटर गाडी चलेको वा तीन वर्षसम्म, ५० हजार किलोमिटर वा ४ वर्ष तथा ४० हजार किलोमिटर वा ५ वर्ष गाडी गुडेसम्म सडक दुर्घटनामा वारेन्टीको सुविधा दिइएको हो ।
हुन्डाई मोटर इन्डिया कोरियाको लोकप्रिय सवारी साधन कम्पनी हुन्डाई मोटर कम्पनीको सहायक कम्पनी हो । हुन्डाई इन्डिया अहिले भारतमा कार निर्यात गर्ने पहिलो कम्पनी बन्न पुगेको छ । केही वर्षयता यो कम्पनीले १२ वटा मोडल बजारमा ल्याएको छ । यसले अफ्रिका, मध्यपूर्व, ल्याटिन अमेरिका, अस्ट्रेलिया, एसिया प्यासेफिक गरी ९१ वटा मुलुकमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ । नेपालका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल ग्रुपले यसका उत्पादन आयात गर्दै आएको छ । 
कम्पनीले भारतीय बजारका लागि यो कार मोडल र अप्सन हेरी चार लाख ९९ हजार नौ सय ९० देखि सात लाख ९९ हजार चार सय ५० भारतीय रुपैयाँमा उपलब्ध गराइएको छ । नयाँ कार नियोस नेपाली बजारमा आउने समय र यसको मूल्य निश्चित भने भइसकेको छैन । 
 

यसमा तपाईको मत