कभर स्टोरी

सम्पदा पुनर्निर्माण हुन अझै दुई वर्ष लाग्ने

  नागरिक   2020-02-10

काठमाडौं– २०७२ को महाभूकम्पले क्षति भएका सबै पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनर्निर्माण सम्पन्न हुन अझै दुई वर्ष लाग्ने भएको छ । भूकम्पबाट क्षति भएका पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं पुनर्निर्माणमा हालसम्म भएको प्रगतिबारे जानकारी दिन पुरातत्व विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समय अवधि तोकिएको हो ।
सम्पदा निमार्णको कार्य चालु आर्थिक वर्षको अन्त्यसम्म ६० प्रतिशत सम्पन्न हुनेसमेत विभागले दाबी गरेको छ । उक्त कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी दुई वर्षभित्र २०७२ को महाभूकम्पले क्षति भएका सबै पुरातात्विक एवं सांस्कृतिक सम्पदाको काम सम्पन्न हुने अपेक्षा व्यक्त गरे । नेपाल विश्व मानव सभ्यताकै केन्द्र भएकाले विश्वका जुनसुकै विश्वविद्यालयबाट मानव सभ्यतासम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताले नेपाल आएर यहाँको संस्कृति र सभ्यताको अनुसन्धान नगरे त्यो अनुसन्धान अपुरो हुने उनको भनाइ छ । नेपालको धार्मिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदा विश्व समुदायको लागि खुला विश्वविद्यालय रहेको भन्दै उनले सम्पदाको पुनर्निर्माणमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।
‘सरकारले सम्पदा पुनर्निर्माणमा पहिलेकै अवस्थामा प्रयोग भएको निर्माण सामग्रीको प्रयोगमा जोड दिन निर्देशन दिएको छ,’ उनले भने, ‘पुराना सामग्रीले काम नगर्ने अवस्था भएमात्र नयाँ प्रयोग गरेर पुराना सामग्रीलाई संग्रहालयमा लगेर राखिने छ ।’ 
पाटन दरबार क्षेत्रमा यस्तो संग्रहालयको निर्माण भइसकेको जनाउँदै बसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रमा समेत चाँडै संग्रहालय निर्माण हुने उनले बताए ।
नेपालले भ्रमण वर्ष २०२० घोषणा गरेको र पर्यटक आकर्षित गर्न हाम्रा सम्पदाहरु बढी महत्वका रहेकाले पनि सम्पदाको संरक्षण र प्रवर्धनमा सरकारले जोड दिएको उनको भनाइ छ ।
सम्पदाको अनुगमनमा आउने युनेस्कोको हरेक मोनिटरिङबाट हाम्रा सम्पदा सफल हुने भन्दै मन्त्री भट्टराईले अब नेपालका विश्वसम्पदाको कालो सूचीमा नपर्ने समेत दाबी गरेका छन् । 
‘सरकाले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ,’ उनले भने, ‘नेपाल आउने हरेक पर्यटकले हाम्रा सम्पदाको अध्ययन तथा अवलोकन गर्ने गरेका छन् । समयमै त्यस्ता सम्पदाको पुनर्निर्माण सम्पन्न गरेर विश्व समुदायमा सकारात्मक सन्देश दिन जरुरी छ ।’ 
काठमाडौं, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा रात्रिकालीन पर्यटकीय वातावरण तयार पारिने मन्त्री भट्टराईले जानकारी गराए । विश्व सम्पदा सूचीमा रहेको सम्पदामा निर्वाध रुपमा रातिसम्म घुम्न सकिने व्यवस्था गर्न लागिएको भन्दै उनले सुरक्षालगायत विषयमा छलफल भइरहेको प्रस्ट पारे । ‘भक्तपुरमा पर्यटकले राति घुम्न सकिने व्यवस्था गरिसकिएको छ, वसन्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रमा पनि छिट्टै यो व्यवस्था गरिँदै छ,’ मन्त्री भट्टराईले भने । 
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिँदै हालसम्म चार सय सम्पदाको पुनर्निर्माण सम्पन्न भएको बताए ।
त्यस्तै, पुरातात्विक स्थलको समेत अन्वेषण र उत्खनन्का भइरहेको भन्दै उनले प्रदेश नम्बर १ को विराटनगर क्षेत्रमा महाभारतकालीन विराट दरबार र किचकबधको उत्खनन भइरहेको जनाए । सम्पदा पुनर्निर्माणमा पुराना निर्माण सामग्री र स्वरुपलाई नबिगारिएको उनको भनाइ छ ।
विभागका प्रवक्ता रामबहादुर कुँवरले गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्नेमा सम्पूर्ण विश्व जानकार रहेको भन्दै कपिलवस्तु क्षेत्रमा भइरहेको उत्खननले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट नै भएको तथ्यलाई स्थापित गरेको बताए ।  
हालसम्म २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेका चार सयभन्दा बढी सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको विभागले जानकारी गराएको छ । 
आगामी दुई वर्षभित्र उपत्यका लगायत आसपासका सबै सम्पदाको पुुनर्निमार्ण गरिसक्ने विभागको दाबी छ । भूकम्पले क्षति पुर्याएका ३२ जिल्लाका नौ सय २० सम्पदामध्ये चालु आवमा मात्रै एक सय ५० भन्दा बढीको पुनर्निर्माण सम्पन्न भएको कार्यक्रममा जानकारी गराइएको छ ।
चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने र बाँकी ४० प्रतिशत आव २०७८/७९ सम्म सक्ने कार्ययोजना विभागले सार्वजनिक गरेको थियो ।
भूकम्पले उपत्यकाका एक सय ७० सम्पदामा क्षति पुगेको र तीमध्ये हालसम्म एक सय एकको पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ ।
 

यसमा तपाईको मत