बजार संक्षेप

सामलिङ्ग पावरको शेयर मंगलबार बाँडफाँट हुदैँ

  नागरिक   2021-11-01

सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर मंगलबार बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान ८ः३० बजे शेयर बाँडफाँट गर्ने भएको हो । पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयर २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयर माग भएको छ ।

यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९.६७ गुणा बढी हो। कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६७ हजार ८९० आवेदकले मात्रै शेयर पाउनेछन् । त्यस अनुसार करिब २२ लाख आवेदकले शेयर नपाउने देखिन्छ ।

 

यसमा तपाईको मत