बजार संक्षेप

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

  नागरिक   2019-11-17

काठमाडौं– चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । 
भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतका संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल र पूर्वमन्त्री एवं राज्यसभाका सांसद विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार हस्तान्तरण गरे ।
सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड प्रदान गरिएको थियो ।
भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटिसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
ती संस्थाहरुले हरेक वर्ष दक्षिण एसियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरुलाई यो अवार्ड प्रदान गर्ने गर्दछन् । 
पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै कम्पनी सञ्चालक ढकालले यो अवार्ड चन्द्रागिरि हिल्सले मात्र नभएर नेपालको सिंगो पर्यटन क्षेत्रले नै प्राप्त गरेको बताए । 
उनले यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश गएको र नेपालमा भारतीय पर्यटकको आगमन बढाउन तथा विशेषगरी नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । 
चन्द्रागिरि हिल्समा अवस्थित भालेश्वर मन्दिरका साथै केबलकार, रिसोर्ट लगायतका विविध एकीकृत पर्यटकीय संरचनाका कारण पछिल्लो समय चन्द्रागिरि हिल्स पुग्ने भारतीय पर्यटकको संख्या बढेको जानकारी दिँदै यस अवार्डले आफूलाई थप उत्साहित बनाएको महाप्रबन्धक शाहले बताए । 
शाहका अनुसार भालेश्वर मन्दिर भारतीय धार्मिक पर्यटकका लागि प्रमुख आस्थाको केन्द्रका रुपमा विकसित भइरहेको छ । नेपालमा पशुपतिनाथको दर्शनका लागि आउने भारतीय पर्यटकहरु प्रायः भालेश्वर पुग्ने गरेको उनको भनाइ छ । 
काठमाडौंको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरिमा २०७३ सालमा केबलकार सञ्चालनमा आएपछि हाल त्यहाँ होटल, रिसोर्टलगायतका संरचना निर्माण गरिएका छन् । 
महाप्रबन्धक शाहका अनुसार हाल चन्द्रागिरिमा प्रत्येक दिन कम्तीमा दुई हजारदेखि २५ सयसम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । 
 

यसमा तपाईको मत