बजार संक्षेप

बढ्दो बजारमा घट्दो रकम

    2019-07-31

करुण ढकाल
काठमाडौँ- दुई दिनदेखि लगातार बढिरहेको सेयर बजारलाई कारोबार रकमले भने साथ दिन सकेको छैन । साताको तेस्रो दिन मंगलबार बजारमापक सूचक ३.३९ बिन्दुले उक्लेर १२५९.३७ मा पुगेको छ । यो सोमबारको तुलनामा ०.२७ प्रतिशतको वृद्धि हो । सोमबार पनि बजार ३.१८ बिन्दुले बढेको थियो । नेप्से बढे पनि कारोबार रकममा भने निरन्तर ह्रास आएको छ । अघिल्लो साताको बिहीबार ५५ करोड पाँच लाख ३२ हजार एक सय ४६ रुपैयाँको सेयर खरिदबिक्री भएकोमा त्यसयता निरन्तर घट्दै मंगलबार कारोबार रकम २९ करोड ४३ लाख पाँच हजार २३ रुपैयाँमा सीमित भएको छ । यो सोमबारको तुलनामा १६ प्रतिशतले कम हो । सोमबार ३५ करोड आठ लाख १२ हजार पाँच सय ७२ रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । नेप्से बढ्ने तर कारोबार रकम घट्ने हुँदा त्यसले बजार वृद्धिलाई कमजोर बनाउने सेयर विश्लेषकहरु बताउँछन् ।
मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०३ बिन्दुले बढेर २७२.१४ बिन्दुमा पुगेको छ । यस दिन कारोबार भएका १२ वटा उपसमूहमध्ये ८ वटाको सूचक उकालो लागेको छ भने बाँकी चारवटाको ओरालो लागेको छ । यस दिन सबैभन्दा बढी निर्जीवन बिमा समूहको सूचक २२.८२ बिन्दुले बढेको छ । यसैगरी लघुवित्त १४.७२, विकास बैंक ७.३२, होटल्स ५.९९, जलविद्युत् ३.१९, बैंकिङ २.८५, अन्य १.२४ र वित्त समूह ०.६५ बिन्दुले बढेका छन् । जीवन बिमा समूह ७.२१, व्यापार ३.२९, उत्पादनमूलक समूह १.४ र म्युचुअल फन्ड ०.०२ बिन्दुले ओरालो लागेका छन् ।
यस दिन सबैभन्दा बढी सिद्धार्थ बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । सिद्धार्थ बैंक प्रमोटर सेयर ३ करोड १६ लाख ६२ हजार आठ सय २० रुपैयाँबराबरको किनबेच भएको छ । कारोबार रकमका हिसाबले दोस्रोदेखि चौथोसम्म क्रमशः नेपाल बैंक लिमिटेड, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल लाइफ इन्सुरेन्स रहेका छन् । सबैभन्दा बढी कारोबार हुने १० कम्पनीमा पाँचवटा बैंक छन् ।
चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
मंगलबार चारवटा कम्पनीको मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ । तीमध्ये तीनवटा लघुवित्त छन् । पोजेटिभ सर्किट लाग्नेमा युनाइटेड इन्सुरेन्स, नयाँ नेपाल लघुवित्त, नेपाल एग्रो माइक्रोफाइनान्स र स्पर्श लघुवित्त छन् । युनाइटेड इन्सुरेन्सको सेयर मूल्य ३० रुपैयाँले बढेर ३ सय २९ पुगेको छ । यस कम्पनीको हकप्रद सेयर निष्कासनका लागि बुधबार नै मूल्य समायोजन भएर कारोबार खुलेको थियो । यस दिन सबैभन्दा बढी सेयर मूल्य बढ्ने १० कम्पनीमा आठवटा लघुवित्त छन् । उक्त सूचीमा एकएकवटा निर्जीवन बिमा (युनाइटेड इन्सुरेन्स) र जलविद्युत् कम्पनी (राधी हाइड्रो) पनि परेका छन् । यी सबै कम्पनीको मूल्य पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
बढ्दो बजारमा पनि यस दिन सबैभन्दा बढी युनियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६.४ प्रतिशतले गिरावट आएको छ । यसैगरी पल्टीपर्पोज फाइनान्स, सिद्धार्थ इन्सुरेन्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र सिन्धु विकास बैंक पनि सबैभन्दा धेरै मूल्य घट्ने पाँच कम्पनीमा परेका छन् ।  
९३ कम्पनीको मूल्य बढ्दा ५५ को घट्यो
मंगलबार कारोबार भएका १ सय ७१ कम्पनीमध्ये ९३ वटाको भाउ बढेको छ भने ५५ वटाको भाउ ओरालो लागेको छ । २३ कम्पनीको क्लोजिङ मूल्यमा भने अघिल्लो दिनको तुलनामा कुनै परिवर्तन आएन । यस दिन एडी रेसियो (मूल्य बढेका कम्पनी र घटेका कम्पनीको अनुपात) १.७ छ । यसले बजारको बुलिस अवस्थाको संकेत गर्छ । यस दिन पनि अघिल्लो दिनको जस्तै उल्टो हथौडा आकारको हरियो महिनबत्ती बनेको छ । आरएसआई ४२.२५ बिन्दुमा छ, जसले बजारमा खरिदबिक्रीको अवस्था सन्तुलनमा रहेको संकेत गर्छ । बोलिङ्गर ब्यान्डमा बजार अभैm पनि मध्य रेखाको मुनि नै गतिशील छ ।
तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
मंगलबार विभिन्न तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत हुने कम्पनीमा पूर्णिमा विकास बैंक, देव विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यसमा तपाईको मत