कभर स्टोरी

विमानस्थलको लागि तत्काल चार किल्ला छुट्ट्याउँछौं: मन्त्री भट्टराई

  नागरिक   2019-11-24

काठमाडौं,– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्ट्याउने काम गर्ने जानकारी गराएका छन् । उक्त कार्यका लागि वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी वातावरणीय अध्ययन भइरहेको उनको भनाइ छ ।
‘यो महिनाभित्र जग्गाको काम सम्पन्न गरिनेछ । साइट क्लियरेन्स र सडक बनाउने काम सुरु हुन्छ,’ उनले भने, ‘विमानस्थल निर्माणको लागि इपिसी मोडलमा जाने कुरा भएको छ, यसको लागि स्विजरल्यान्डको जुरिच एयरपोर्टको आशयपत्र छनोट भएको छ । उसको वित्तीय अवस्था हाम्रो लगानी बोर्डले हेर्दैछ ।’
मन्त्री भट्टराईले निजगढ विमानस्थल बनाउनेबारे गलत प्रचार गरिएको पनि आरोप लगाए । उनले भने, ‘यस्तो गलत प्रचार गर्नु भनेको नेपालमा विकास गर्न नदिने षड्यन्त्र हो । यसमा हाम्रै साथीहरु शिकार हुनुभयो । मलाई दुःख लागेको छ ।’
निजगढमा कति रुख काट्नुपर्ने हो भन्ने विषयमा यही महिनाभित्र तथ्यांक दिने उनको भनाइ छ । ‘२५ लाख रुख काट्ने काम जिन्दगीमा कहिल्यै पनि हुँदैन । आधाको आधा पनि काट्दैनौं । बरु, आधाको आधाको पनि आधा पनि चाहिँ काटिन्छ,’ उनले जनता भड्काउने काम नगर्न चेतावनी दिँदै थपे, ‘हामी कम क्षतिमा काम गर्छौं ।’ 
उनले आगामी पाँच वर्षभित्र निजगढबाट अमेरिका जान सकिने ठोकुवा गरे । उनले भने, ‘द्रुत गतिमा काम हुन्छ । वर्षमा २० लाखमात्रै होइन, एक करोड पर्यटक आउने बनाउँछौं । अब नेपालमा पर्यटनको विकास हुन्छ ।’
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने पनि विश्वास दिलाएका छन् । विगतमा ५–६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाइ भए पनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको उनले स्पष्ट पारे । उनले भने, ‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लागि लगातार छलफल गरेको छु । सँगसँगै सरोकारवालासँग पनि धेरैपटक छलफल र अन्तक्र्रिया गरेको छु ।’
अघिल्लो आर्थिक वर्ष भ्रमण वर्षको लागि १० करोड र यो वर्ष १५ करोड बजेट छुट्ट्याइएको सुनाउँदै उनले थपे, ‘भ्रमण वर्षको लागि २५ करोड बजेट भनेको न्यून हो । अहिले हामीले ६५ करोडको बजेट पास गरेका छौं ।’
सन् २०२० को जनवरी १ तारिखमा भ्रमण वर्षको भव्य शुभारम्भ हुने र त्यसका लागि काठमाडौंमा केही दिनभित्रै ठाउँ घोषणा गरिने उनको भनाइ छ । भ्रमण वर्षको शुभारम्भमा हजारौंको जनसहभागिता रहने उनले बताए । 
त्यस्तै, उनले भ्रमण वर्षलाई लक्ष्य गरेर आफूले ४० भन्दा बढी देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको जनाए । 
विदेशमा रहेका नेपाली कूटनीतिक नियोग, संघ–संस्थालाई पनि नेपाल भ्रमण वर्षको कार्यक्रम गर्न निर्देशन गरिएको उनले बताए ।  प्रत्येक देशबाट ठूलो संख्यामा नेपाल भ्रमणको लागि पर्यटक पठाउन पनि आफूले परराष्ट्र मन्त्रालयको सहयोगमा निर्देशन दिइसकेको मन्त्री भट्टराईको भनाइ छ । 
विश्वका प्रमुख सहरमा यतिबेला नेपाल भ्रमण वर्षको प्रचारप्रसार तीव्र भइरहेको भन्दै मन्त्री भट्टराईले नयाँ वर्षको पूर्वसन्ध्यामा केही नयाँ हिमाल आरोहण खुला गर्न लागिएको जानकारी गराए । 
निमार्णाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालको पर्यटन उद्योग अर्थतन्त्र धेरै मजबुत हुने उनले विश्वास व्यक्त गरे । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ५० प्रतिशतभन्दा बढी सकिइसकेकोले सरकारको लक्ष्यभन्दा ६ महिनाअघि नै सम्पन्न हुने उनको भनाइ छ । उनका अनुसार आगामी सन् २०२१ को जुनसम्ममा उक्त विमानस्थलको निर्माण कार्य सकिनेछ । 
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण र विस्तारको काम जारी रहेको जानकारी गराउँदै काठमाडौंको एयरपोर्टमा जहाज होल्ड हुने समस्याप्रति आफू संवेदनशील रहेको बताए । 
मन्त्री भट्टराईले काठमाडौंको एयरपोर्टमा अध्यागमन सुधार गर्ने र यसलाई अनलाइन प्रणालीमा लग्न लागेको बताए । उनले भने, ‘अबको १५–२० दिनमा अध्यागमन स्मार्ट बन्छ । कतिपयले दुई घन्टा उभिँदा पनि लगेज नपाएको भनेर आरोपको लागि आरोप लगाएका छन् । तर, म दाबाका साथ भन्छु काठमाडौंको एयरपोर्टमा ३० देखि ४५ मिनेटमा सबै लगेज क्लियर हुन्छ ।’ उनले विमानस्थलमा सुधार गर्नको लागि दिइने जायज सुझावलाई आफूले सकारात्मक रुपमा लिने गरेको सुनाए । 
नेपाल वायुसेवा निगम अहिले ४० अर्ब ऋणमा रहेको र यसले वार्षिक चार अर्ब ब्याज तिर्दै आएको उनले बताए । उनले भने, ‘वार्षिक एक अर्ब त यसका जहाज ओभर ग्राउन्डेड भएरले घाटा लागेको छ । मैले यी सबै कुराको अन्त्य हुनुपर्छ भनेर कडा निर्देशन दिएको छु ।’ 
 

यसमा तपाईको मत