कभर स्टोरी

इलामको व्यापार केन्द्र सिटी मार्ट सञ्चालनमा

  नागरिक   2021-10-10

स्थानीय तहमध्ये सम्भवतः देशमै पहिलोपटक निजी–सार्वजनिक–साझेदारीको कानुन नै बनाएर निर्माण गरिएको इलाम चोक बजारस्थित सिटी मार्ट सञ्चालनमा आएको छ। १२ करोड १९ लाख रूपैयाँ लागतमा निर्मित सिटी मार्टको इलाम नगरका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

व्यापारिक हिसाबले सदरमुकामको चहलपहल बढाउन र पर्यटक आकर्षित गर्न इलाम नगरपालिकाले १ नम्बर प्रदेश सरकार र स्थानीय व्यवसायीसमेतको सहकार्यमा सिटी मार्ट निर्माण गरेको छ। नगरको ८ करोड ३५ लाख ९२ हजार, स्थानीय व्यवसायीको ३ करोड ८ लाख ९१ हजार र प्रदेशको ४० लाख रूपैयाँ लगानीमा सिटी मार्ट निर्माण गरिएको हो।

इन्जिनियर दीपक गुरागाईंले ४ तले सिटी मार्ट भवन ७ सय ७१ वर्गमिटरमा फैलिएको बताए। २ लिफ्टसहितको सिटी मार्टमा ९६ सटररपसल, ३ सय ३० जना अटाउने पार्टी प्यालेस र १ सय २० जना अटाउने रेस्टुरेन्ट छन्। यीमध्ये ७६ कोठा भाडामा लागिसकेका छन्। दोस्रो तलाका २० कोठा भाडामा लाग्न बाँकी रहेको नगरले जनाएको छ। सिटी मार्टकै अगाडि २ ब्लकमा ५ सटर निर्माण गरिएका छन्। ती सटरमा पसल खुलिसकेका छन्।

मेयर बस्नेतले सार्वजनिक–निजी साझेदारीमा स्थानीय तहमध्ये देशमै पहिलोपटक कानुन निर्माण गरी यो भवन निर्माण गरेको बताए। ‘जब नगरलाई अन्यत्र आम्दानीका स्रोत खुल्छन्, तब नगरवासीले तिर्नुपर्ने प्रत्यक्ष करमा ठूलो बोझ पर्दैन,’ उनले भने, ‘नगरको आन्तरिक आम्दानी बढाएर करको मार घटाउन यो व्यावसायिक संरचनाले पनि सघाउनेछ।’ सिटी मार्टबाट नगरपालिकाको आन्तरिक आम्दानी उल्लेख्य रूपमा बढ्ने आशा गरिएको छ। नगरले यसबाट मासिक ६ लाख ७४ हजार रूपैयाँ आम्दानी गर्ने अनुमान छ।

गाउँ–गाउँका बासिन्दा र यहाँ आएका पर्यटकलाई एउटै भवनमा सयौंखाले उपभोग्य सामग्री पाउने व्यवस्था मिलाउने नगरको लक्ष्य छ। सिटी मार्टमा छरिएर रहेका खुद्रा पसल एकै स्थानमा रहने नगरले जनाएको छ। स्थानीय ५४ व्यवसायीले सिटी मार्ट निर्माणमा ३ लाखदेखि ६ लाख रूपैयाँसम्म अग्रिम लगानी गरेका छन्। यो लगानीबापत व्यवसायीले आफ्नो रकमले भ्याएसम्म सिटी मार्टको कोठा प्रयोग गर्न पाउनेछन्। ‘एउटा कोठाका लागि मासिक ५ हजारदेखि १२ हजार रूपैयाँसम्म भाडा तोकिएको छ,’ इन्जिनियर गुरागाईंले भने, ‘व्यवसायीले गरेको लगानीबाट भाडाको रकम कट्टी हुँदै जान्छ।’ अहिलेसम्म बढीमा १२ वर्षसम्म बस्नेगरी व्यवसायीले लगानी गरिसकेको उनले बताए।

स्थानीय व्यवसायीसमेत बजारमा सिटी मार्ट बनेपछि खुसी छन्। यहाँको व्यापार–व्यवसायलाई एकीकृत गर्न नगरले गरेको यो प्रयास प्रशंसनीय भएको इलाम उद्योग वाणिज्य संघले जनाएको छ। संघ उपाध्यक्ष दुर्गा ९मदन० श्रेष्ठले सिट मार्टले यहाँको व्यापारमा सघाउने बताए। तर, कोभिडका कारण लामो समय बन्द रहेको व्यवसायलाई लयमा फर्काउन स्थानीय सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने उनले माग गरे।

विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासंघ, नगरस्तरीय विभिन्न समितिका प्रतिनिधिले सिटी मार्टले इलामको पर्यटन र व्यापार–व्यवसायमा इँटा थप्ने आशा व्यक्त गरे। देश संघीयता संरचनामा गएपछि जिल्ला सदरमुकामको चहलपहल घटेका बेला सिटी मार्टले पनि जमघट बढाउने आशा स्थानीयको छ।

यसमा तपाईको मत