बजार संक्षेप

डाबरका अनिल पुरीलाई एचआर म्यानेजर अफ दी इयर अवार्ड

  नागरिक   2019-09-08

काठमाडौं– मानव संसाधन समाज नेपालले वार्षिक रुपमा प्रदान गर्ने एचआर म्यानेजर अफ दी इयर यो वर्ष डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरी घोषित भएका छन् । 
मानव संसाधन समाज नेपालद्वारा आयोजित आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ को अवसर पारेर डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरीलाई सो मानव संसाधनको ‘एचआर म्यानेजर अफ दी इयर’ अवार्ड दिइएको हो ।
सम्मेलनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले विश्व बजारमा बिक्न सक्ने किसिमको श्रम र जनशक्ति तयार गर्नुपर्ने बताए । उनले श्रम बजारको आवश्यकताअनुसार श्रम विकास गर्नुपर्ने नत्र कतै काम नपाउने अवस्था आउन सक्ने स्पष्ट पारे ।
‘मानव संसाधन विकासको योजनाका साथ अगाडि बढ्नुपर्ने छ, विश्व बजारमा देखिएको तीव्रताअनुसार अगाडि बढ्न सक्नुपर्छ,’ मन्त्री बिष्टले भने ।
उनले मानव संसाधन कानुन हेरिरहेको जानकारी दिँदै सरकारले स्थानीय तहमा पनि दक्ष जनशक्ति तयार पार्ने योजना लिएको बताए । ‘सरकारले स्थानीय तहमा सीपयुक्त जनशक्ति उत्पादन गर्ने निर्णय गरेको छ, जसले हाम्रो आवश्यकता पूरा गर्दछ भने नयाँ शिक्षा नीतिबाट पनि मानव संसाधनको सम्बोधन गर्ने प्रयास हुनेछ,’ मन्त्री बिष्टले भने ।
उनले अहिलेको अवस्थामा जनशक्ति, प्रक्रिया र प्रविधिलाई साथसाथै लान सके मात्र फाइदा हुने बताए ।
कार्यक्रममा मानव संसाधन समाज नेपालका अध्यक्ष मोहन ओझाले अहिलेसम्म नेपालमा मानव संसाधनलाई महŒव नदिइएको र सीपालु जनशक्तिको अभाव देखिएको बताए । उनले देशभित्र मानव संसाधनको विकास गर्ने हो भने ‘मानव संसाधन मन्त्रालय’ गठन गर्न समेत माग गरे ।
कार्यक्रममा सार्वजनिक गरिएको नेपाल स्किल रिपोर्टका प्रमुख अनुसन्धान संयोजक प्रोफेसर मोहनदास मानन्धरले नेपालमा दक्ष र सीप दिने रणनीति नै कमजोर भएको बताए । उनले नेपालमा आर्थिक विकास गर्नका लागि जमिन, उत्पादन, पुँजी र श्रमको अवरोध रहेको भन्दै सबैभन्दा कमजोर क्षेत्र श्रम रहेको दाबी गरे ।
सो प्रारम्भिक रिपोर्टमा नेपालका जनशक्तिलाई दिइएको मानव संसाधनको सीप र आवश्यक पर्ने सीपबीच खाडल उल्लेख गरिएको जानकारी दिए ।
 

यसमा तपाईको मत