बजार संक्षेप

हिमालय एअरलाइन्सको नयाँ लोगो सार्वजनिक

  नागरिक   2019-09-30

काठमाडौं– हिमालय एअरलाइन्सले हिमालको चुचुरोमा उड्दै गरेको चिल अंकित गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ। हिमालयको निर्देशिक सिद्धान्त, सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर ब्रान्ड पहिचान परिवर्तन गरिएको कम्पनीले जनाएको छ।
एउटा जहाज र एउटा गन्तव्यबाट सुरु गरेको यात्रा तीन वर्षमै तीनवटा ए३२० जहाज कायम गरी पाँच वटा गन्तव्यमा उडान भर्ने क्षमता विकास गरेको कम्पनीले जनाएको छ । 
आबुधावी, दमाम र दोहालाई नेपालसंग जोड्दै हिमालयले मध्यपूर्वी मुलुकमा बलियो उपस्थिति जनाएको छ। दुई महिनाअगाडि काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्सले यो रुटमा सेवा सञ्चालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ । 
कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नया“ लोगो एअरलाइन्सका प्रेसिडेन्ट झो एन्योङ र भाइस् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरेका छन्। एअरलाइन्सले नयाँ लोगो सार्वजनिक गरेसंगै यसको व्याख्या र संस्थाको प्रगतिलाई ब्रान्ड तथा सर्भिस डिपार्टमेन्टकी प्रमुख श्रीमती उज्ज्वला दलीले प्रस्तुत गरेकी थिइन् । 
नयाँ लोगोले ‘हिमालय’मा भएको तीनवटा अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चिललाई चित्रित गर्छ। जसले एअरलाइन्सको धेरै उचाइमा उड्न सक्ने साखलाई संकेत गर्ने जनाइएको छ। त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एअरलाइन्सको नाम र स्थान व्याख्या गर्ने जनाइएको छ । 
त्यसैगरी, लोगोमा प्रयोग भएको निलो, सेतो र सुन्तला रंगको संयोजनले ‘एकीकृत र मेलमिलाप’को भावलाई प्रतिनिधित्व गर्ने एअरलाइन्सको दाबी छ । 

यसमा तपाईको मत