बजार संक्षेप

आठ वर्षपछि गुण एयरलाइन्सको उडान सुरु

  नागरिक   2021-09-20

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ। एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान सुरु गरेको हो।

एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ। एयरलाइन्सका सिइओ बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिष्पर्धा गर्नका लागि नआएको बताए। उनले एयरलाइन्सले कोरोनाको पेन्डामिक समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताए।

सिइओ श्रेष्ठले जनतालाई सुरक्षा, प्यासेन्जरलाई मनोरञ्जन दिने नै गुण एयरलाइन्सको मुख्य लक्ष्य भएको बताए। उनले पुरानो ब्राण्डबाटै चलाउन उपयुक्त हुन्छ भन्ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिए।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताए। उनले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताए। उनले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने बताए।

गुण एयरलाइन्समा काठमाडौंबाट चितवनसम्म पुगेका यात्रुहरुले एयरलाइन्सको सेवाहरु राम्रो भएको प्रतिक्रिया दिएका छन्। उनीहरुले गुण एयरलाइन्सको सर्भिस राम्रो भएकोले सबैलाई एकपटक यसको सर्भिस लिन सुझाएका छन्।

गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन्। २००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो। कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा अपनाएरु एडान सुरु गरेको हो।

यसमा तपाईको मत