बजार संक्षेप

सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

  नागरिक   2019-09-05

काठमाडौं– विगतमा जस्तै सरकारले दसैं तथा तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 
सुपथ मूल्य पसल तयारी समितिका सदस्य समेत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साबिक खाद्य संस्थान) का महाप्रबन्धक योगेन्द्र गौचनले खाद्य, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा उपत्यका र उपत्यकाबाहिर आ–आफ्नो शाखा तथा सम्पर्क केन्द्रमार्फत पसल सञ्चालन गर्ने जानकारी दिए । ‘गत मंगलबार बसेको तयारी समितिको बैठकबाट आगामी भदौ २३ देखि पसल सञ्चालन गर्ने योजना बनेको छ,’ गौचनले भने, ‘त्यसलाई बिहीबार बैठक बसी मन्त्रालयबाट स्वीकृत गराइनेछ ।’ 
उपत्यकामा पायक पर्ने स्थानमा संयुक्त रुपमा अत्यावश्यक खाद्य सामग्री राखिने र उपत्यकाबाहिर खाद्यले विभिन्न १९ स्थानमा सुपथ मूल्य सञ्चालन गर्ने योजना बनाएको खाद्यका बिक्री विभाग प्रमुख लालमोहन ठाकुरले जानकारी दिए । सुपथ मूल्य पसल सञ्चालन गर्दा प्रदेश र भूगोललाई प्राथमिकतामा राखिएको ठाकुरले बताए । 
खाद्यले उपत्यकामा सहमतिका आधारमा पाँच ठाउँमा र बाहिर प्रदेश १ को पाँच स्थान ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, दिक्तेल र संखुवासभामा पसल सञ्चालन गर्नेछ । प्रदेश २ मा लहान र जनकपुर, गण्डकी प्रदेशका पोखरा, मनाङ र मुस्ताङ, प्रदेश ५ को तुल्सीपुर र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत, पश्चिम रुकुम र डोल्पा साथै सुदूरपश्चिम प्रदेशको धनगढी, डडेलधुरा र बाजुराका कोल्टी र मार्तडीमा सुपथ मूल्य पसल सञ्चालन गर्ने ठाकुरले बताए । 
ठाकुरका अनुसार उपत्यकाबाहिर खाद्यले चामल, सिमी लगायत दलहन, तितेफापर, चिनी र उपलब्धता साथै सम्भाव्यताका आधारमा खसीबोका समेत राख्ने तयारी छ । सुपथ मूल्य पसलमा खाद्य तथा खसीबोकामा पाँचदेखि १० रुपैयाँ प्रतिकिलो छुट दिइनेछ । त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि उपत्यकाबाहिरका आफ्ना नियमित बिक्री केन्द्रमा पसल सञ्चालन गर्ने जनाएको छ ।
 

यसमा तपाईको मत