ग्याजेट विशेष

गेमिंग ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरु

  नागरिक   2019-02-24

नामले नै सुझाए अनुसार गेमिंग ल्यापटप गेम खेल्न अथवा ग्राफिक सम्बन्धि कामहरु गर्नका लागि खरिद गरिन्छ | ल्यापटपमा गेम खेल्न रुचाउने तर यस सम्बन्धि खासै ज्ञान नभएकाहरुलाई भने गेमिंग ल्यापटप खरिद गर्नु पनि झन्झटिलो कुरा हुन्छ | यदि तपाईं पनि गेमिंग ल्यापटप किन्ने विचारमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् :

 

१. साना गेमहरु खेल्नलाई गेमिंग ल्यापटप नै चाहिँदैन

तपाईंले खेल्ने गेमहरु कस्ता छन् ? क्यान्डी क्रस, एसफाल्ट नाइन, पबजी मोबाइल भर्सन वा आजभन्दा केहि वर्ष अगाडीका गेमहरु - जस्तै दोटा, काउन्टर स्ट्राइक - खेल्ने विचारमा हुनुहुन्छ भने तपाईंलाई गेमिंग ल्यापटपको आवश्यकता नै पर्दैन | यी साना र पुराना गेमहरु ग्राफिक कार्ड नभएको ल्यापटपमा पनि चल्नसक्छ |


२. गेम राम्रो चल्ने शक्तिशाली ल्यापटपहरु प्राय ठूला र मोटा हुन्छन्

साना र कम्प्याक्ट आकारमा गेमिंग ल्यापटपहरु कम मात्रा मै भेटिन्छन | धेरै गेमिंग ल्यापटपहरुको डिस्प्ले साइज  १५ इन्च भन्दा हुनेगर्दछ | ठूलो हुनुको संगसंगै गेमिंग ल्यापटपहरु मोटा पनि हुनेगर्छन | तौल पनि साधारण ल्यापटपभन्दा लगभग दोब्बर हुन्छन् |

३. आवश्यकता अनुसार ग्राफिक कार्ड चयन गर्नुहोस्

कस्तो गेम खेल्दै हुनुहुन्छ त्यही कुरामा आधारित भएर गेमिंग ल्यापटपमा ग्राफिक कार्ड चयन गर्नुहोस् | गेमिंग ल्यापटपको मुख्य भाग नै उक्त ल्यापटपको ग्राफिक कार्ड हो |

बजेट गेमिंग ल्यापटपमा कम शक्तिसाली ग्राफिक कार्ड हुन्छन् | यी ग्राफिक कार्डहरु GTX 1050 र GTX 1050 Ti हुन् | बजेट गेमिंग ल्यापटप नै लिए पनि पुराना GTX 950M वा GTX960M भएको ल्यापटप नलिनु नै उचित हुन्छ | GTX 1050 र GTX 1050 Ti भएका ल्यापटपहरुको मूल्य लगभग १ लाखबाट सुरु भएर १ लाख ३० हजारसम्म हुनजान्छ |

मिडरेन्ज र फ्याग्शिपमा GTX 1060 वा GTX 1070 भएका ल्यापटपहरु पाइन्छन् | यो ग्राफिक कार्ड भएको ल्यापटपलाई १ लाख ३० हजारभन्दा बढी नै पर्नजान्छ |

नयाँ गेमहरु एचडीमा र लो वा मिडियम सेटिंगमा खेल्नका लागि बजेट गेमिंग ल्यापटप नै ठीक हुन्छ | नयाँ गेमहरुलाई राम्रो ग्राफिक गुणस्तरमा खेल्नका लागि भने   GTX 1060 वा GTX 1070 ग्राफिक कार्ड भएका ल्यापटपहरु आवश्यक पर्छन |


४. प्रोसेसर र र्याम पनि उतिकै महत्वपूर्ण हुन्छ

गेम खेल्नका लागि प्रोसेसर र र्यामको पनि ठूलो भूमिका हुन्छ | राम्रोसंग गेम चल्नको लागि ४ ओटा कोर भएको प्रोसेसर आवश्यकता पर्छ | यस लगायत गेम राम्रोसंग चल्न कम्तिमा पनि ८ जीबी र्यामको आवश्यकता पर्छ भने १६ जीबी र्याम पर्याप्त हुन्छ |

 

यसमा तपाईको मत