बजार संक्षेप

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी सकियो

  नागरिक   2019-09-05

काठमाडौं– फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पूरा भएको छ । राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पूरा भएको आयोजक संस्थाले जानकारी दिएको हो । 
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पूरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए । 
‘विगत वर्षमा जस्तै यसपटक मेलाको सबै तयारी पूरा भएको छ । परिष्कृत रुपमा मेला आयोजना हुन लागेको जानकारी गराउँन पाउँदा हामीलाई खुसी लागेको छ,’ संघका अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमा बताए ।
बढ्दो आधुनिक जीवनशैली सँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने उनको भनाइ छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ । 
फर्नेक्स २०१९ को शीर्ष प्रायोजन जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् । यसैगरी, यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एसोसिएसनले सहयोग गरेका छन् ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आमउपभोक्तालाई आग्रह गर्दै संयोजक अग्रवालले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको जानकारी गराए । 
प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाइ छ । यसका साथै फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भिœयाउँदै फर्निचर उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको छ । इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको जानकारी गराए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्न सक्ने उनको भनाइ छ । 
पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय २० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

यसमा तपाईको मत