बजार संक्षेप

पुस ९ देखि १३ सम्म ‘द काठमाडौं ट्रेड सो २०१९’ हुने

  नागरिक   2019-12-22

काठमाडौं– डेली रोलिङ मिडिया एन्ड इभेन्ट्सले पुस ९ देखि १३ गतेसम्म ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलमा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाललगायत देशका करिब एक सय ५० स्टल रहने आयोजकले जनाएको छ । मेलामा नयाँ–नयाँ र टिकाउ सामग्री बिक्री तथा प्रदर्शनी हुने इभेन्ट्सले जनाएको छ । 
नेपालमा निर्मित तथा अयातित वस्तुको वृहत प्रदर्शनी गर्नु र प्रदर्शकको वित्तीय लेनदेनलाई फाइदाजनक बनाउनु मेलाको मुख्य लक्ष्य रहेको इभेन्ट्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लत्ताकपडा, खाद्यान्न, घरायसी सरसमानदेखि ठूलाठूला औजार, सवारी साधान र घर निर्माणसम्मका स्टल मेलामा रहने आयोजकले जनाएको छ । मेलामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम पनि आयोजना गरिने छन् । 
क्रिसमसको समय परेकाले दर्शकको संख्यामा उल्लेखनीय वृद्धी हुने विश्वास आयोजकले लिएको छ । मेला बेलुका ८ बजेसम्म खुल्ला राख्ने तयारी गरिएको आयोजकमध्येका एक धिरज ढकालले जानकारी दिए । मेलाको पहिलो दिन सांगीतिक कार्यक्रमसमेत आयोजना गरिने छ । मेला पूर्ण रुपमा व्यावसायिक र मनोरञ्जनात्मक हुने आयोजकको भनाइ छ । 
पर्यटन प्रवद्र्धनका लागि सहुलियत मूल्यमा केही स्टल बिक्री गरी नेपालको भेषभूषा, मौलिक खाद्यान्न, संस्कृति र मौलिक सामग्री प्रदर्शनी मेलामा समावेश हुने आयोजकले जनाएको छ । काठमाडौं र सिंगो नेपालको कला, संंस्कृति, भेषभूषा रहनसहनअनुसारको व्यापार व्यवसाय फस्टाउने भएकाले मेलालाई ‘ट्रेड इन्फ्ल्युन्स बाई कल्चर’को ढा“चामा आयोजना गर्न लागिएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत