बजार संक्षेप

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

  नागरिक   2020-01-29

काठमाडौं– वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका निम्ति सम्झौता भएको छ । 
सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानद्वारा विभागका महानिर्देशक भीष्मकुमार भुसाल र एनसिएचएलका पदाधिकारीको उपस्थितिमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
उक्त सम्झौतापश्चात वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानी कनेक्ट आएपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगारकर्मी तथा अन्य संस्थाका बैंक खाताबाट सोझै तोकिएको बैंक खातामा प्राप्त गर्न सकिने जनाइएको छ । प्रारम्भिक रुपमा यस प्रणालीमार्फत वैदेशिक रोजगारकर्मीले तोकिएका बिमा कम्पनीमा अनिवार्य आवधिक बिमाका निम्ति बुझाउनुपर्ने बिमा प्रिमियम शुल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन् भने पछिल्लो तहमा कल्याणकारी कोषमा अनिवार्य जम्मा गर्नुपर्ने रकम, भाषा परीक्षण शुल्क, कम्पनी नवीकरण शुल्कलगायत विभिन्न भुक्तानी पनि अनलाइन मार्फत भुक्तानी गर्न सकिने कम्पनीको दाबी छ ।
 

यसमा तपाईको मत