बजार संक्षेप

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी

  नागरिक   2021-10-31

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ। ललितपुरमा शुक्रबादेखि आयोजित १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो। गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन। यस वर्षको प्रदर्शनीमा दुई दिनमा रु ३८ लाखको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्ण रुपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिएपनि लक्ष्यभन्दा बढी आम्दानी हुने भएको छ। ‘शुक्रबार र शनिबार जस्तै आर्थिक कारोबार हुने हो भने करिब रु ७० लाखको कारोबार हुन्छ’, अध्यक्ष तामाङले भने। फ्लोरिकल्चर एशोसिएशनले वर्षेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष आगामी सोमबारसम्म चल्ने छ। प्रदर्शनीमा सबैभन्दा बढी गोदावरी फूल अवलोकन कर्ताको रोजाई बनेको बताइएको छ। मेलामा ४४ स्टल रहेको छ भने गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत मेलामा राखिएको  एशोसिएशनको भनाइ छ।

काठमाडौँ उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले मेलामा भाग लिएका छन् भने मेलामा ४०० प्रजातिका फूल रहेको छ। कारोना महामारी र बेमौसमी पानीको कारण यस वर्ष स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ।

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो। बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले विगतको वर्षमा भन्दा भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ। यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ। तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला छन्। माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ।

यसमा तपाईको मत