बजार संक्षेप

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

  नागरिक   2020-01-19

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम मिलेर गर्ने सम्बन्धी सम्झौता भएको छ । 
सम्झौताअनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेबसाइटलाई होम पेजको रुपमा प्रयोग गर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ भने सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवर्दनलाई मद्दत पुर्याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिने जनाइएको छ ।
यसका अतिरिक्त निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइनेछ ।
उक्त सम्झौतामा निगमका संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गरेको निगमले जनाएको छ । 
 

यसमा तपाईको मत