बजार संक्षेप

फर्नेक्स २०१९ को तयारी अन्तिम चरणमा

    2019-08-09

काठमाडौं– भदौको अन्तिम साताबाट भृकुटीमण्डपमा आयोजना हुने सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । 
नेपाल फर्निचर तथा फनिर्सिङ संघको आयोजनामा भदौ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने उक्त मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।
मेलाको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज, हाइटेक्स कार्पेट र जेन्सा कार्पेट रहेका छन् भने मेलालाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् ।
यसैगरी, उक्त मेलालाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एसोसिएसन समेतकोे सहयोग रहेको जारी विज्ञप्तिमा उल्लेख छ । स्वेदेशी तथा विदेशी ब्रान्डका सयभन्दा बढी कम्पनीको सहभागिता रहने मेलामा नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरको बृहत प्रदर्शनी कक्ष रहनेछ ।
मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने बताइएको छ ।
यसैगरी, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेस, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीमा रहनेछन् । 
मेलामा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्तालाई लक्की ड्रमार्फत आर्कषक उपहारसमेत वितरण गरिने जनाइएको छ । सन् २०१२ देखि नियमित रुपमा मेला आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।
प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबोटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आकर्षण हुनेछ । विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने बताइएको छ ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेेछ । 

यसमा तपाईको मत