बजार संक्षेप

बजारमा नक्कली चुरोट

  नागरिक   2019-11-04

काठमाडौं- भारतसँग सीमा जोडिएका तराईका अधिकांश बजारमा सूर्य नेपालका उत्पादनसँग मिल्दाजुल्दा नक्कली चुरोट खुलेआम बिक्री भइरहेको छ । 
जनकपुर क्षेत्रमा नेपाली ब्रान्ड सूर्य नेपालका खुकुरी र शिखर जस्ता देखिने नक्कली चुरोटको बिगबिगी बढेको हो । बजारमा जताजतै नक्कली चुरोट बिक्री हुँदा पनि भन्सार र प्रहरी प्रशासन उदासीन छ । यसको सोझो असर सरकारले करोडौंको राजस्व गुमाउनुपरेको छ भने नेपाली कम्पनीलाई पनि असर परेको छ । 
सूर्य नेपालका अनुसार धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्रान्डका नाममा भारतीय नक्कली चुरोट बिक्री वितरण भइरहेको हो । यो समस्या २ नम्बर प्रदेशका आठै जिल्लामा छ । 
केही दिनअघि जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर एक लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्यका खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको थियोे । 
छापा मारिए पनि नक्कली चुरोट बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । 
बजारमा चुरोट मात्र नभएर नेपाली ब्रान्डकै नक्कली सूर्तीजन्य अन्य पदार्थको पनि कारोबार हुन्छ । धनुषाको यदुकोहा, सबैला, भठियन, भररिया, गोदार, महोत्तरीको जलेश्वर, मटिहानी, सम्सी, गौशाला र सर्लाहीको मलंगवा हरिपूर्वालगायत स्थानमा  नेपाली ब्रान्डका खुकुरी र शिखर जस्तै देखिने भारतीय नक्कली चुरोट बिक्री भइरहेको छ । 
सूर्य नेपालका अनुसार नक्कली खुकुरी चुरोट र असली चुरोटमा रंगको भिन्नता छ । सक्कलीमा गाढा रातो रंगको डिब्बा छ  भने नक्कलीमा कम रातो छ । यस्तै सक्कलीमा स्टिकर लोगो रहेको छ भने नक्कलीमा केही छैन । 
राजधानी काठमाडौंमा विदेशी कर छलेका चुरोट र तराईमा स्वदेशी ब्रान्डका नक्कली चुरोट पाउन थालेपछि स्वदेशी उद्योग समस्यामा परेको सूर्य नेपालको गुनासो छ । 
सरकारले आर्थिक वर्ष ०७५/७६ मा अधिकतम ८७ प्रतिशतसम्म र सरदर सबै चुरोटमा ४० प्रतिशतसम्म कर बढाएको थियो । चालु आवमा थप १० प्रतिशत कर वृद्धि गरिएको छ । 

यसमा तपाईको मत