बजार संक्षेप

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

  नागरिक   2019-11-17

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । 
नेपाल बैंकको ८३औं वार्षिक उत्सवका अवसरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई उचित ब्याज नदिएसम्म बजारमा लगानीयोग्य पुँजीको अभाव हुने भएकोले आकर्षक ब्याज दिनुपर्ने बताए । 
विगतमा पनि यस्तै अभाव भोगेको अनुभव सुनाउँदै उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजदर नबढे निक्षेप कम हुने र यसले मुलुकको अर्थमन्त्रमै असर पर्ने भएकाले निक्षेपकर्तालाई दिने ब्याजको दर बढाउनु पर्छ ।’
उच्च व्यवस्थापन र कर्मचारीका कारण समस्याग्रस्त हुने अवस्थामा पुगेको नेपाल बैंकलाई आफू नेपाल राष्ट्र बैंकको गर्भनर हुँदा सुधार गर्न सफल भएको  उनले बताए । 
‘मैले राष्ट्र बैंकमा काम गर्दा कुल समयको १० प्रतिशत नेपाल बैंक बचाउन दिएको थिएँ,’ उनले भने, ‘सर्वसाधारणको विश्वास गुमाइसकेको र ऋणमा डुबेको बैंक त्यहाँ कार्यरत कर्मचारी, ट्रेड युनियन र व्यवस्थापन पक्ष सबैको सहकार्यमा नाफा कमाउन सफल भएको छ ।’
ठूलो हिस्सा सरकारको लगानी रहेको नेपाल बैंकले आगामी दिनमा निजी क्षेत्रका अन्य बैंक तथा वित्तीय संस्थासरह बैंकिङ सेवा र सुविधा दिन प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए । 
सोही अवसरमा बैंकले नेपालको पहिलो ‘बैंकिङ म्युजियम’ सञ्चालन गरेको जनाएको छ । त्यसैगरी, यसअघि बन्द भएका १८ शाखा कार्यलयको पुनस्र्थापना र दुई एक्सटेन्सन काउन्टरको ‘डिजिटल’ पद्धतिबाट उद्घाटन गरेको बैंकले जनाएको छ । 
बैंकमा दीर्घसेवा गरेका कर्मचारी, विभिन्न प्रतियोगिताका विजयी खेलाडी लगायतलाई पदक, पुरस्कार तथा प्रमाणपत्र पनि सो अवसरमा प्रदान गरिएको थियो । 
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आगामी दिनमा ग्राहकलाई थप सेवा, सुविधा दिने योजनामा रहेको बताए । उनले भने, ‘मुलुकको पहिलो बैंक भएर पनि विभिन्न कारणले ओझेलमा परेको थियो । तर चालु आवको पहिलो त्रैमासिक अवधिमा ५८ करोड रुपैयाँ नाफा गर्न सफल भएका छांै ।’ आगामी दिनमा बैंकलाई अझ बलियो बनाउँदै लैजाने उनले बताए । 

यसमा तपाईको मत