बजार संक्षेप

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

  नागरिक   2019-12-29

नागरिक संवाददाता
बागलुङ- निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । महासंघका वर्तमान उपाध्यक्ष ढकालले आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवको अवसरमा ढकालले उम्मेवार बन्ने घोषणा गरे । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति स्वतः अध्यक्षमा चुनिने व्यवस्था भएकाले निजी क्षेत्रले यसलाई विशेष महत्वका साथ हेरेको छ । 
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघको तर्फबाट संघका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठले उम्मेदवारीको प्रस्ताव गरेका थिए । ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा दर्जन बढी जिल्लाका अध्यक्षसहित केन्द्रीय सदस्यको उपस्थिति थियो । ‘म देशका विभिन्न जिल्ला पुग्दा साथीहरुले आगामी नेतृत्वका लागि मलाई आग्रह गर्नुभएको छ,’ ढकालले भने, ‘यहाँ बागलुङ उद्योग वाणिज्य संघले प्रस्ताव गरेपछि धेरै जिल्ला नगर तथा केन्द्रीय सदस्य साथीहरुले त्यसलाई समर्थन गर्नुभएको छ । मैले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी स्वीकार गरेको जानकारी गराउँछु ।’ 
अहिले उम्मेदवारीको बेलामा जस्तै आगामी चैतमा हुने महासंघको निर्वाचनमा पनि साथ दिन ढकालले आग्रह गरे । ‘अहिले तपाईंहरुको साथ पाएर म उत्साहित भएको छु,’ उनले भने, ‘आगामी चैतमा महासंघको महाधिवेशन हुँदैछ । त्यस बेला पनि तपाईंहरुको साथ पाउने अपेक्षा गरेको छु ।’ 
ढकाल अहिले महासंघका वस्तुगततर्फका उपाध्यक्ष छन् । बागलुङको अमलाचौरमा जन्मिएका ढकाल हाल महासंघको उपाध्यक्ष तथा संघको रोजगारदाता परिषद्को सभापति छन् । ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन् ।
कार्गोबाट व्यावसायिक यात्रा सुरु गरेका ढकाल आइएमई ग्रुपका अध्यक्ष हुन् । रेमिटेन्स, बैंक, केबलकार, जलविद्युत्, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल लगायत क्षेत्रमा उनको लगानी छ ।
उपाध्यक्ष ढकालले आफू बागलुङको माटोमा जन्मेर उद्यागीको रुपमा अगाडि बढेको भन्दै बागलुङको विकासलाई प्राथमिकता राखेको बताए । ‘पर्यटन विकासमा यहाँको निकै ठूलो सम्भावना भएको क्षेत्र हो, हामीले के कुरामा लगानी गर्न सक्छौं भनेर छलफल पनि गरेका छौं, त्यसको निष्कर्ष आएपछि घोषणा गर्नेछौं,’ उनले भने । 
सामाजिक दायित्व अन्तर्गत पनि बागलुङमा विद्यालय, स्वास्थ्यचौकी लगायतका क्षेत्रमा आफूले लगानी गरेको बताए । तीन तहको सरकार निर्माण भएपछि काम गर्न चाहे पनि केही बाधाहरु रहेको ढकालले गुनासो गरे । ‘उद्योगलाई सरकारले पार्टनरको रुपमा लियो भने देश समृद्ध हुन धेरै समय लाग्दैन,’ उनले भने, ‘अहिले तीन तहको सरकारबीच समन्वय अभावले व्यवसायीलाई लगानी गर्न समस्या भइरहेको छ ।’ निजी क्षेत्रलाई सरकारले साझेदारको रुपमा अगाडि बढाउनुपर्ने ढकालको धारणा छ ।

यसमा तपाईको मत