बजार संक्षेप

यूरोपेली डेमोला ग्लोबल नेपाल प्रवेश

    2019-08-15

काठमाडौँ-  निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुका लागि समस्याको पहिचानका साथसाथै नवप्रवर्धन (इनोभेसन)मा आधारित समाधानको खोजी गर्नका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङ्गस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको छ । काठमाडौँमा आयोजित एक समारोहबिच उक्त सम्झौताको घोषणा गरेको जानकारी उक्त संस्थाद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।  

हालसम्म विश्वको १६ वटा राष्ट्रहरुमा सञ्जाल निर्माण गरिसकेको डेमोलाले विभिन्न निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुले भोगिरहेको वा भविष्यमा भोग्न सक्ने समस्याहरुको पहिचान तथा उपायको खोजी गर्दछ । डेमोला ग्लोबलका अनुसार निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुको समस्यामा उक्त संस्थाको कर्मचारी तथा विद्यार्थीहरु मिलेर आठ हप्तासम्म काम गर्दछ जसको पहिलो चरणमा कम्पनी वा संस्थाहरुको समस्याहरुको पहिचान हुन्छ भने दोश्रो चरणमा सो समस्याको सम्भाब्य नविन र श्रृजनात्मक समाधानका विकल्पहरुको खोजी गरिने जानकारी दिइएको छ। 
 
किंङ्गस् कलेजले दिएको जानकारीअनुसार कार्यसंचालन सुरुवात घोषणाकै दिन डेमोला नेपाल र पाँचवटा नेपाली संस्थाहरुबिच सहकार्य सहमतीमा हस्ताक्षर भएको छ। यसरी सम्झौता गर्ने संस्थाहरु अन्नपूर्ण मिडिया नेटवर्क, यङ्ग इनोभेसन, काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोग, कथा नेपाल र नेक्स्ट भेन्चर्स कर्प हुन् । 

डेमोलाका अनुसार विद्यार्थी र सम्बन्धित कम्पनी वा संस्थाको कर्मचारी बाहेक यस परियोजनामा डेमोला ग्लोबलका विज्ञहरु तथा विश्वविद्यालयका प्राध्यापकहरुले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । 

“यस परियोजनाअन्तर्गत कम्पनी वा संस्थका कर्मचारीसँग मिलेर समस्या समाधान गर्ने क्रममा विद्यार्थीहरुले औपचारीक अध्ययन सक्नुअघि नै आफ्नो क्षमता प्रमाणित गर्नेछ। जसको कारण ती कम्पनी वा संस्थाहरुले विद्यार्थीहरुमाथि विश्वास गर्न थाल्नेछन्” परियोजना संयोजक स्वेच्छा राजभण्डारीले बताए । 

उनका अनुसार यति मात्र नभएर नेपाली विद्यार्थीहरुले डेमोला ग्लोबल संचालन भएका अन्य राष्ट्रमा गएर पनि काम गर्न पाउनेछन् भने अन्य राष्ट्रका विद्यार्थीहरुले पनि नेपालमा आएर योगदान पुर्याउन सक्नेछन् । 
यस परियोजनाबाट लाभ लिनका लागि कम्पनी वा संस्थाहरुले वर्षको चार पटक आवेदन दिन सक्नेछन् भने डेमोला नेपालले एक पटकमा जम्मा पाँचवटा कम्पनी वा संस्थाहरुलाई मात्र समावेश गर्न सकिने जानकारी दिइएको छ। 

यसमा तपाईको मत