बजार संक्षेप

देशका ७५ स्थानमा सुपथ मूल्य पसल

  नागरिक   2021-09-19

चाडपर्वलाई लक्ष्य गरेर मुलुकका ७५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। आम उपभोक्तालाई सुविधा दिन भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ स्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानमा सुपथ पसल खोलेका हुन्।

खाद्य र साल्ट ट्रेडिङले विगतमा सँग–सँगै आउटलेट सञ्चालन गर्दै आएकोमा यो वर्ष भीडभाड नहोस् भनेर छुट्टा–छुट्टै आउटलेट राखेका छन्।

शुक्रबारदेखि सुरु भएका सुपथ मूल्य पसलमा चिनी, नुन लगायत खाद्य वस्तुमा छुट दिइएको छ। कर्पोरेसन, खाद्य र दुग्ध विकास संस्थाले नुन, चिनी, घिउ, पनिर, चामल लगायत वस्तुमा छुट दिएका छन्। खाद्यका पसलहरूमा नुन किलोमा दुई रूपैयाँ, दालमा पाँच रूपैयाँ चिउरामा पाँच रूपैयाँ, आटा पाँच रूपैयाँ, तोरी तेल पाँच रूपैयाँ, सूर्यमुखी तेल पाँच रूपैयाँ, चिनी पाँच रूपैयाँ, चामल पाँच रूपैयाँ, सिमी १० रूपैयाँ, फापर १० रूपैयाँ र भटमास तेल १० रूपैयाँ सस्तो छ।

खाद्य तथा व्यापार कम्पनीले चामल, दाल, खाने तेलमा र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ। संस्थानले केन्द्रीय कार्यालय लैनचौर, न्युरोड, खुमलटारबाट छुट दिएको छ। एक लिटर घिउमा ५० रूपैयाँ, पनिर २०० ग्राममा पाँच रूपैयाँ, आधा केजीमा १० रूपैयाँ र एक किलोमा २० रूपैयाँ छुट दिएको संस्थानले जनाएको छ।

सुपथ मूल्य पसलमा नुन १८ र चिनी ७९ किलोमा बिक्री गरिएको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए। ‘अन्य वस्तु पनि न्यूनतम मूल्यमा बिक्री गरेका छौं,’ झाले भने। झाका अनुसार तीनवटा घुम्ती पसल पनि सञ्चालन भएको छ। ‘उपभोक्ताले अर्डर गरे घुम्ती पसलबाट पनि सेवा दिन्छौं,’ उनले भने।

कर्पोरेसनले उपत्यकाका कालीमाटी, कोटेश्वर, सतुंगल, जावलाखेल र भक्तपुर गरी ६ स्थानमा पसल खोलेको छ। उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगन्ज, हेटौंडा, नीारायणगढ, पोखरा, बागलुङ, भैरहवा, कृष्णनगर, दाङ, सुर्खेत, नेपालगन्ज, टकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेलधुरा, बेलौरी र त्रिशूलीमा छ।  

खाद्यले उपत्यकाको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा पसल राखेको छ। खाद्यका डिपो भएका जिल्लासहित ४३ स्थानमा आउटलेट खोलेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मोहनप्रकाश चन्दले जानकारी दिए। ‘आउटलेट मात्र नभएर अनलाइन अर्डरका आधारमा पनि सेवा दिएका छौं,’ चन्दले भने, ‘उपभोक्ताको सजिलोको लागि निःशुल्क होम डेलिभरीको व्यवस्था मिलाएका छौं।’ मुलुकका सुगम क्षेत्र मात्र नभएर दुर्गम क्षेत्रमा पनि सहुलियत दरमा चामल लगायत खाद्यान्न बिक्रीको व्यवस्था मिलाएको छ। खाद्यका पसलमा दाल, चामलका विभिन्न भेराइटी छन्। ‘सस्तोदेखि मिठो मसिनो चामलमा पनि किलोमा पाँच रूपैयाँ छुट दिएका छौं,’ सिइओ चन्दले भने।

खाद्यले छुटसँगै निःशुल्क होम डेलिभरी गर्ने जनाएको छ। सस्तो डिल, मुकुन्डो नेपाल र आई सेलेक्ट जस्ता ई–कमर्स प्लेटफर्ममार्फत फ्री डेलिभरीको व्यवस्था मिलाएको चन्दले बताए।  

बजारमा मूल्यवृद्धि नियन्त्रण गर्दै सन्तुलन कायम गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सहुलियत पसलका लागि सरकारले तीन करोड २५ लाख रूपैयाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार खाद्यलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। सरकारी स्वामित्वका संस्थानहरूले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलको कारण बजारमा मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिन्छ। आम उपभोक्तालाई राहत पुग्ने गरी सहुलियत पसल सञ्चालन गर्नु स्वागतयोग्य काम भएको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिनाले बताए।

‘केही भए पनि उपभोक्तालाई सहुलित भएको छ,’ उनले भने, ‘यतिले मात्र पुग्दैन बजार अनुगमन गरेर उपस्थिति बढाउनु पर्छ।’ चाडपर्वमा हुन सक्ने सम्भावित मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि थप टोली परिचालन गर्ने तयारी गरेको छ। चाडपर्वमा खाद्यान्न, चिनी लगायत दैनिक उपभोग्य वस्तुको खपत बढ्छ।

दुई हजार खसीबोका ल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलाई लक्ष्य गरेर करिब दुई हजार खसीबोका उपत्यकामा ल्याउने जनाएको छ। बजार मूल्यभन्दा सस्तो र किलोमा १० रूपैयाँ छुट दिने गरी खसीबोका ल्याउने योजना छ। यस वर्ष भेडाच्यांग्रा भने नल्याउने सिइओ चन्दले बताए। कोभिडको कारण चीनसँगका नाका बन्द भएकाले च्यांग्रा ल्याउन नसकेको उनले बताए।

यसमा तपाईको मत