बजार संक्षेप

बिग्रेको कार्डको रिचार्ज वेबसाइटबाट

  नागरिक   2019-12-19

काठमाडौं– नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर ६ वटा नम्बरसम्म मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । 
कार्डको पिन नम्बर प्रस्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्छ । यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै पिन रिकभरी डट एनटिसी डट नेट डट एनपीमा लगअन गर्नुपर्ने कम्पनीले जनाएको छ । 
रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बरमध्ये कमसेकम ६ वटा अंक देखिनुपर्ने जनाइएको छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा स्टार चिह्न राख्नुपर्छ ।
यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । योभन्दा बढीपटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । 
कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत