बजार संक्षेप

सिटिजन्सले सहयोगी विकास बैंक प्राप्त गर्ने

    2019-07-08

काठमाडौं- सिटिजन्स बैंकले सहयोगी विकास बैंक प्राप्त गर्ने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 
आइतबार सिटिजन्सको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उक्त बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगीका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 
शनिबारसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंक प्राप्त गरेपछि बैंकको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ । हालको सिटिजन्स बैंकको चुक्ता पुँजी आठ अर्ब ३७ करोड रुपैयाँ छ । सहयोगीको चुक्ता पुँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ । प्रारम्भिक सहमतिअनुसार सहयोगी विकाश बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउने छ । वास्तविक सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्ने सहमति भएको छ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगीले १४ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको नौ वटा शाखा सञ्चालनमा रहेकोमा यस बैंकको प्राप्तिसँगै शाखा संख्या २३ पुग्नेछ । 
अहिले सिटिजन्सको शाखा संखय ९५ छ । त्यसैगरी, यसले ८० वटा एटिएम र सयवटा शाखारहित एकाइबाट करिब पाँच लाख ग्राहक आधुनिक बैंकिङ सेवादिइरहेको जनाएको छ । 

यसमा तपाईको मत