बजार संक्षेप

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर आजबाट

  नागरिक   2019-11-25

काठमाडौं– राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आजबाट चारदिने चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु हुँदैछ । 
जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा बोल्दै मेला आयोजक संस्था तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लापा छिरीले मेलामा ५० भन्दा बढी प्रदर्शकले भाग लिने जानकारी दिए । मेलामा जौबाट बन्ने खाद्य सामग्री, दुग्ध पदार्थ, मदिरा, जौको वाइन, तिब्बती औषधी, हस्तकला, स्किन केयर सम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्रीसम्बद्ध व्यवसायीको सहभागिता रहने पनि उनले जानकारी दिए । 
नेपालमा लगानीको अवसर पहिचान गर्न अध्ययन गरिरहेका कम्पनीहरु पनि मेलामा सहभागी हुने उनले जानकारी दिए । यो मेलाले नेपाल र चीनबीचको व्यापार र आर्थिक सम्बन्ध अझ बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरे । 
नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच (बिटुबी) छलफल, समझदारीपत्रमा हस्ताक्षर लगायत कार्यक्रम रहेको बताए । मेलाको उद्देश्य उपभोक्तालाई वस्तु बिक्री गर्ने नभई चिनियाँ वस्तुको क्रेता (बायर) प्रदर्शनी रहेको उनले बताए । ‘त्यसैले नेपाली बायरहरुसँग अन्तक्र्रिया गर्ने उहाँहरुको लक्ष्य छ,’ अध्यक्ष तुलाधरले भने । 
दुईपक्षीय समझदारी अनुसार दुवै मुलुकका उद्यमी, व्यवसायीले पालैपालो आफ्ना वस्तु अर्को मुलुकमा लगेर प्रदर्शन गरी दुईपक्षीय व्यापारको आकार बढाउन यसपालि चिनियाँ व्यवसायी नेपाल आएको र सम्भवतः अप्रिलतिर नेपाली व्यवसायीले तिब्बतमा आयोजना हुने यस्तै प्रकारको प्रदर्शनीमा स्टल राख्ने उनले बताए । 
यो मेलाले दुई देशबीचको व्यापारिक क्रियाकलाप वृद्धि हुने र सदियौं पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने उनले बताए । 
मेलामा सहभागी चिनियाँ व्यवसायीले नेपालमा उत्पादन गरेर चीन निर्यात गर्न सकिने वस्तुबारे पनि अध्ययन गर्ने उद्देश्य राखेको तुलाधरले जानकारी गराए । 
 

यसमा तपाईको मत