बजार संक्षेप

क्यान इन्फोटेक फागुनमा

  नागरिक   2019-12-19

काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आगामी फागुनमा क्यान इन्फोटेक २०२० आयोजना गर्ने भएको छ ।
फागुन २ देखि ७ गतेसम्म आयोजना हुने मेलामा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
२६औं संस्करणको रुपमा आयोजना हुन गइरहेको उक्त प्रदर्शनी यो वर्षदेखि काठमाडौं उपत्यकासहित सातै प्रदेशमा आयोजना हुने भएको जनाएको छ ।
हालसम्म काठमाडौंमा मात्रै आयोजना हुँदै आएको प्रदर्शनी यो वर्षदेखि इटहरी, वीरगन्ज, चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रदेशस्तरीय तथा नेपालगन्जमा जिल्लास्तरीय स्वरुपमा आयोजना हुने बताइएको छ ।
२६औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्लास्तरीय इन्फोटेकको शीर्ष प्रायोजक प्रभु पे, एसोसिएट प्रायोजक वल्र्डलिंक कम्युनिकेसन, अफिसियल इन्स्योरेन्स प्रभु इन्सोरेन्स र टिकट पार्टनर इ–पे रहेको आयोजकले जनाएको छ । 
त्यस्तै, सिल्भर प्रायोजन लर्डबुद्ध एजुकेसन फाउन्डेसनले गरेको छ भने एसोसिएट, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजन पनि खुला गरिएको छ । 

प्रायोजकले स्तरअनुसारको स्टल तथा भिआइपी तथा सामान्य पास, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यमका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनी जस्ता सुविधा पाउने छन् ।  
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० आयोजना गर्न लागेको महासंघले जानकारी गराएको छ ।
यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लेटफर्म सिर्जना गर्ने र ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्ने जनाइएको छ । प्र्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीबीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि रहेको छ ।
प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । 
प्रदर्शनीलाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

प्रदर्शनीले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । 
क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् । जसमा ब्रान्डिङ, आइसिटी एसेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, रोबोटिक्स, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाई, इन्टरनेट र लर्निङ सेन्टर, आइटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र प्रदर्शनीको आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
साथै, अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टी–भाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभी र हार्ड डिस्क जस्ता उत्पादन प्रदर्शनीमा राखिनेछ ।
त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहनेछन् ।

यो वर्षको प्रदर्शनीमा प्रवेश टिकटलाई पेपरलेस बनाउने योजना रहेको जनाउँदै क्यानले चार लाखभन्दा बढीले मेला अवलोकन गर्ने दाबी गरेको छ । 
 

यसमा तपाईको मत