बजार संक्षेप

लोप हुँदै चङ्गाको व्यापार

  नागरिक   2021-10-10

कुनै बेला सहरी मनोरञ्जनको मुख्य साधन बनेको चङ्गा अहिले काठमाडौंको आकाशमा पातलिँदै गएको छ। विगतमा सयौं चङ्गा उड्ने टुँडिखेलको आकाश अहिले रित्तो–रित्तो छ।

पछिल्लो समय बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले चङ्गा खेल र यसको व्यापार सुनसान बन्दै गएको छ। केही वर्ष अघिसम्म दसैं सुरु हुनुअगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुने गरेको भए पनि पछिल्ला वर्ष चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएकोमा व्यवसायी चिन्तित छन्।

सामान्यतया चङ्गा उडाउने समय चैत–वैशाखदेखि दसैंसम्म हो। तर काठमाडौं असन क्षेत्रका गल्लीमा बाहै्र महिना चङ्गाको व्यापार गर्नेहरू व्यवसाय नै संकटमा पर्न सक्ने खतरा बढ्दै गएको बताउँछन्। २ वर्षअघिसम्म पनि यो सिजनमा राम्रै हुने चङ्गाको व्यापार यो वर्ष घटेको व्यवसायीले बताएका छन्।

‘केही वर्षअघिसम्म आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो, इन्द्रजात्रा सकेलगत्तै चङ्गा उडाउँथ्यौं तर अहिलेका बालबालिकादेखि युवापुस्ता डिजिटल युगतिर लागे,’ असनका चङ्गा व्यापारी दीपेन्द्र चित्रकार बताउँछन्। पछिल्लो समय होटल रेस्टुरेन्ट, सोरुम सजावटका लागि चङ्गाको माग अधिक हुने गरेको भए पनि कोरोना सुरु भएसँगै यो व्यवसायसमेत प्रभावित हुँदै गएको उनको भनाइ छ।  

यो सिजनका तीन महिनामा मात्रै केही वर्षअघि सम्म लाखौंको कारोबार हुने चङ्गाको व्यापार स्मार्टफोनको बजारीकरणले व्यापार लोप हुने खतरामा रहेको उनले बताए। संस्कृतिहरू विस्तारै हराउँदै गएकाले पनि आफू यसको मारमा परेको उनको भनाइ छ। चंगा संस्कृति हराउँदै जानुमा इन्टरनेट र मोबाइल नै मुख्य दोषी रहेको उनले बताए।

 

यसमा तपाईको मत