बजार संक्षेप

बुद्ध एयरको टिकट मोबाइल एपबाट बुकिङ तथा खरिद गर्दा विशेष छुट

    2019-07-14

ललितपुर– मोबाइल एपबाट टिकट बुकिङ गर्दा बुद्ध एयरलाइन्सले विशेष छुट दिने भएको छ। बुद्ध एयरको एप र वेवसाइटबाट अनलाईन टिकट बुकिङ/खरिद गर्दा तत्काल छुट मिल्ने बुद्ध एयरले जनाएको हो। यो छुट बुद्धका राष्ट्रिय उडानहरुमा मात्र प्राप्त गर्न सकिन्छ।

यो योजना ट्राभल एजेन्सीबाट टिकट खरिद गर्दा भने लागु नहुने एयरलाइन्सले जनाएको छ।

मोबाइल एपमार्फत घरमै बसेर क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिन्छ।

कम्पनीले एपमार्फत यात्रुलाई धेरै भन्दा धेरै सूचना दिने गरेको छ। जस्तोः घरमै बसेर टिकट बुकिङ गर्न सकिने, जहाजको उडान तालिका एवं समय परिवर्तन, एयरलाइन्सको सबै उडान र त्यसको अवस्था, पर्यटकीय गन्तव्यहरुबारे विस्तृत जानकारी एपबाटै प्राप्त गर्न सकिने एयरलाइन्सले जनाएको छ।  

त्यसैगरी, एपबाटै उडानसम्बन्धी प्रतिक्रिया दिन मिल्ने सुविधा पनि छ। ट्राभल एजेन्सीमार्फत काटेको टिकट कोडमार्फत मोबाइलमै टिकट उपलब्ध हुनुका साथै कम्पनी प्रोफाइल पनि एपमा प्राप्त गर्न सकिन्छ।

एपमा नेपाली र विदेशी दुवैले टिकट काट्न पाउने व्यवस्था छ। नेपाली र भारतीयलाई एउटा भाडादर र तेस्रो मुलुकका नागरिकलाई अर्को भाडादर भएको कम्पनीले बताएको छ।

विगत ६ वर्षदेखि भारतको बनारसमा उडान भर्दै आएको बुद्ध एयरले एटीआर ७२–५०० बाट भारतको कोलकोता उडान पनि सुरु गरिसकेको छ । हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, तुम्लिङटार, सिमरा, सुर्खेतमा उडान भर्दै आएको छ।

त्यसैगरी कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट (एक्स्पेरियन्स अन्नपूर्ण)को उडान पनि गर्दै आएको छ । दैनिक रुपमा बुद्धले ६० वटा जति उडान भर्ने गरेको छ। 

यसमा तपाईको मत