बजार संक्षेप

ब्रोइलरको मूल्यले रेकर्ड तोड्यो

  नागरिक   2020-02-02

बनेपा– ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । 
बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै पसल बन्द गर्न थालेका छन् । ‘किसानसँग सस्तोमा किनेर कोल्ड रूममा राखेको फ्रोजन मासुसमेत ठूला व्यापारीले किलोको तीन सय ६० रुपैयाँ भन्न थालेका छन् । यसरी कति दिन टिक्न सकिएला,’ एक कोल्ड स्टोर व्यवसायीले भने । 
असोजदेखि मंसिरसम्म ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हुलेका थिएनन् । त्यतिखेर लागत मूल्य नै दुई सय २० को हाराहारीमा थियो । यस्तै, पछिल्लो समय ब्रोइलर कुखुरालाई ३० दिन पालिसकेलगत्तै रोगव्याधिबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए ।
विगतमा काठमाडौं आसपासका जिल्लामा ब्रोइलर महँगो हुँदा उपत्यकाका कोल्ड स्टोरहरुले बाहिरी जिल्लाबाट सस्तोमा कुखुरा मगाउँदै आएका थिए । यसपटक तराई र बाहिरी जिल्लामै ब्रोइलरको भाउ दुई सय ४० सम्म पुगेको भन्दै शनिबार पहिलो पटक किलोमै २० रुपैयाँ बढाएका हुन् । यसरी पहिलो पटक उपत्यकामा दुई सय ७० खरिद मूल्य कायम गरे पनि यो भाउमा उनीहरुले जर्तिबापत भन्दै दुई प्रतिशत वा पाँच रुपैयाँ घटाउने गरेका छन् ।
 

यसमा तपाईको मत