बजार संक्षेप

पानीमा कालोबजारी

    2019-07-26


मिनराज भण्डारी

काठमाडौं- दैनिक ४३ करोड लिटर पानी आवश्यक पर्ने काठमाडौंमा यसको कालोबजारी बढ्दै गएको छ । प्रशोधित पानीको नाममा एक सय २० प्रतिशतसम्म मुनाफा गरी व्यवसायीले ब्रह्मलुट मच्चाइरहेका छन् । 
उत्पादकले नौ रुपैयाँ प्रतिबोतलमा दिने पानी व्यापारीले त्यसको तीन गुनासम्म बढी लिएर बेच्छन् । 
नौ रुपैयाँमा किनेको पानी व्यापारीले प्रतिबोतल २५ रुपैयाँभन्दा बढी लिने गरेको अनुगमनका क्रममा फेला परेको सरकारी अधिकारीको भनाइ छ । २० प्रतिशतभन्दा बढी नाफा खाए कारवाही हुने कानुन रहे पनि जिम्मेवार निकाय सक्रिय नहुँदा कालोबजारी मौलाएको पाइन्छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाखर रेग्मीका अनुसार विभागले गत आर्थिक वर्षमा कालोबजारी गर्ने पानी व्यापारीलाई तीन लाख रुपैयाँसम्म जरिवाना गरेको थियो । अझै पनि त्यस्ता व्यवसायीलाई कानुनी कारबाही गर्न विभाग लागिपरेको उनको दाबी छ ।
होलसेल मूल्यमा केही तलमाथि परे पनि उत्पादकले मूल्यसहित बजारमा पठाए कालोबजारी नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।
‘हामीले पनि पानीमा कालोबजारी मौलाएको सुन्दै आएका छौं । बीचका व्यापारीले पानीबाट बढी नाफा लिइरहेकोले उत्पादकले नै मुनाफासहितको मूल्य तोक्नु आवश्यक छ,’ उनले भने । 
ढुवानीको कारण देखाउँदै केही पानी व्यवसायीले बढी मूल्य तोकेका छन् । उपत्यकाका उद्योगबाट बजारमा पानी पठाउँदा धेरै ढुवानी भाडा नलाग्ने भएकाले बढी मूल्य राख्नु उचित नरहेको उनले बताए ।
विभागले अनुगमनका क्रममा उद्योगको गेटमा प्र्रतिबोतल १२ रुपैयाँ पर्ने पानी बजारमा २५ रुपैयाँसम्ममा बेचेको भेटिएको उनले जानकारी दिए । पानीको मूूल्य निर्धारण गर्न व्यवसायीसँग छलफल गर्ने तयारीमा रहेको उनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन विभागले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ अनुसार उत्पादन नगर्ने कम्पनीलाई कारवाही गर्दै आएको बताउँछन् । हालसम्म विभागबाट दुई सय ७० भन्दा बढीले सञ्चालन अनुमति लिएका छन् । निर्देशिका जारी भएपछि पानीको गुणस्तरमा कुनै उजुरी नआएको उनको भनाइ छ ।
गत वर्ष मात्रै पानी, दूध र तेलमा शुद्धता कायम राख्न विशेष कार्यक्रम चलाएको विभाग उपभोक्ताको स्वास्थमा असर पार्ने किसिमका काम गरेको उजुरीको आधारमा निगरानी र कारवाही प्रक्रियामा जाने गरेको उनले बताए । 
‘हामीले पानीको नमुना परीक्षण गरेर मात्र एक वर्षको अनुमति दिने गरेका छौं । अर्काे वर्ष नवीकरण गर्न आउँदा विभागकै प्रयोगशालामा पानीको शुद्धता परीक्षण हुन्छ,’ उनले भने, ‘निर्देशिका अनुरुप विभागले चौमासिक रुपमा परीक्षण गर्दै आएकाले गुणस्तर भने अनुरुप कै भेटिने गरेको छ ।’
गंगा पानी उद्योगका सञ्चालक रुद्र अधिकारी पानी उत्पादन गर्ने कम्पनीबीच मूल्यमा प्रतिस्पर्धा रहेकाले बजारमा सस्तोमा दिन बाध्य भएको बताउँछन् । पानी उत्पादक दिन प्रतिदिन थपिँदै गएका र बजार सानो भएकोले वास्तविक लगानीअनुसार मूल्य निर्धारण नभएको उनको भनाइ छ ।
आफ्नो कम्पनीले दैनिक ३० हजार लिटरभन्दा बढी पानी बजारमा पठाउने गरेको जनाउँदै उनले होटल, रेस्टुरेन्ट तथा होस्टेलमा ग्राहक हेरेर प्रतिजार ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको बताए । 
जारको भन्दा बोतलको पानीमा बढी कालोबजारी हुने गरेको उनको भनाइ छ । व्यापारीले एक कार्टुन पानी एक सय १० रुपैयाँमा किन्छन् । त्यही पानी उपभोक्ताले किन्दा बोतलमा उल्लेख गरिएको पैसा तिर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
केही कम्पनीले आफ्नो उत्पादन शतप्रतिशत शुद्ध रहेको देखाउन अनावश्यक प्रचारप्रसारमा खर्च गर्ने त्यसको भार पनि उपभोक्तामा पर्न जाने उनको अनुमान छ । पानीको प्रशोधन गर्ने प्रक्रिया र प्रविधि एउटैै रहेकाले मूल्यमा समानता हुनुपर्ने उनको तर्क छ । 
 

यसमा तपाईको मत