बजार संक्षेप

बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंक कारबाहीमा

  नागरिक   2021-10-25

केन्द्रीय बैंकको निर्देशन विपरित काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको हो।

गत आवको चौथो त्रैमासिकमा यी बैंकहरुले केन्द्रीय बैंक प्रावधान बमोजिम तोकिएको अनिवार्य नगद मौज्दात (सीआरआर)वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगर्दा जरिवानामा परेका हुन्। राष्ट्र बैंकका अनुसार नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ २४ पैसा, प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ १२ पैसा र हिमालयन बैंकलाई २ पटक गरी ३० हजार २१ रुपैयाँ जरिवाना गरिएको हो।

त्यसैगरी केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीहरुलाई हर्जाना तिराएको छ। राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको ५ प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिर्नुपरेको हो।

त्यस्तै फाइनान्स कम्पनीले विपन्न वर्ग कर्जा अन्तर्गत कुल कर्जाको ५ प्रतिशत कर्जा व्याजमा यस शीर्षक अन्तर्गत प्रवाह गर्नुपर्छ। तोकेबमोजिम नभएमा राष्ट्र बैंकले जरिवाना तिराउँछ। समृद्धि फाइनान्सलाई साउनमा अनिवार्य मौज्दात कायम नगरेबापत पहिलोपटक १ सय ३८ रुपियाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरे बापत नै २ हजार ८ सय ७ रुपियाँ ९९ पैसा हर्जाना तिराइएको छ।

त्यस्तै सिटी एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार ७ सय ५१ रुपियाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार ३ सय ८ रुपियाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेको सजाय स्वरुप हर्जाना तिराइएको हो। ललितपुर फाइनान्सलाई विपन्न वर्ग कर्जा प्रवाह नगरेको सजायस्वरुप पहिलोपटक ७ लाख ११ हजार ६ सय ४६ रुपियाँ, दोस्रोपटक ६ लाख ६७ हजार २ सय ७३ रुपियाँ र तेस्रोपटक ६ लाख ७८ हजार ७३ गरी कुल २० लाख ५६ हजार ९ सय ९२ रुपियाँ हर्जाना तिरेका छन् भने पुँजी कर्जा निक्षेप अनुपात ९सीसीडी रेसियो० कायम नगरेको सजाय स्वरुप ६४ हजार ५ सय ७२ रुपियाँ ९६ पैसा जरिवाना तिराइएको छ।

यसमा तपाईको मत