कभर स्टोरी

बाँसको मुडा निर्यात ७८ प्रतिशत कम

  नागरिक   2020-01-05

हिमनाथ देवकोटा
रसुवा- रसुवागढी नाकाबाट बाँसको मुडाको निर्यात घटेको छ । चालु आर्थिक वर्ष ०७६/७७ को पाँच महिनामा चार हजारवटा मुडा चीन निर्यात भएको छ । 
गत आर्थिक वर्षको पाँच महिनामा १८ हजार पाँच सय ६३ मुडा निर्यात भएको थियो । यो गत वर्षको तुलनामा ७८.४६ प्रतिशत कम हो । प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाको तथ्यांक अनुसार साउनमा दुई हजार आठ सय ५० र कात्तिकमा एक हजार एक सय ५० मुडा निर्यात भएको छ । 
गत साउनदेखि मंसिर मसान्तसम्ममा १० लाख मूल्य बराबरको बाँसको मुडा चीन निर्यात भएको छ । एउटा मुडा दुई सय ५० रुपयाँमा बिक्री हुन्छ । गत वर्ष साउनमा चार हजार, भदौमा चार हजार ३६, असोजमा १५ सय, कात्तिकमा दुई हजार ५० र मंसिरमा ६९ सय ५० वटा मुडा निर्यात भएको तथ्यांक छ । 
पुसमा २८ सय, माघमा १९ सय मुडा निर्यात भएको थियो । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्री लैजाने गरिएको केरुङमा रहेका नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताए । 
पौडेलका अनुसार सुनसरी, काठमाडौं र धादिङको कारागारमा उत्पादित मुडा चीन लैजाने गरिएको छ । ‘अन्य कारागारबाट पनि मुडा संकलन हुने गरेको छ,’ पौडेलले भने, ‘तर यी तीन जिल्लाबाट बढी संकलन हुन्छ ।’ 
आर्थिक वर्ष ०७३/७४ मा एक करोड २० लाख १५ हजार रुपैयाँ बराबरको २१ हजार चार सय ५५ र आर्थिक वर्ष ०७४/७५ मा ३१ लाख २० हजार मूल्य बराबरको १२ हजार आठ सय ८० मुडा निर्यात भएको कार्यालयको तथ्यांक छ । 
नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यात हुँदै आएको छ । रसुवागढी नाका हुँदै अम्रिसोको कुचो, काठको क्यारझुल, ह्यान्डिक्राफ्ट, काठका विविध सामग्री, बाँसको नाङ्लो, बुद्धचित्त माला र रुद्राक्ष निर्यात हुने गरेको छ । 
पछिल्लो समय कृषिजन्य सामग्री निर्यात घटेको वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताए । ‘कृषि उपजको निकासी नभई यहाँका कृषकको र देशको कल्याण छैन, उनले भने, यसका लागि उत्पादन प्रतिस्पर्धी बनाउनु पर्छ ।’ यसका लागि विभिन्न निकायले सहयोग गर्नुपर्छ, उनले थपे । चीनबाट सामग्री आयात गर्दा बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानेटरी सर्टिफिकेट) अनिवार्य गरिएको छ । 

जिल्ला कारागार तनहुँमा तयार गरिएको मुडामा रङरोगन गर्दै कारागारका बन्दी । यहाँका बन्दीले मुडा बनाएर आम्दानी गरिरहेका छन् । 
तस्बिर:  कृष्ण न्यौपाने/रासस
 

यसमा तपाईको मत